प्रतिकूल मौसम हेरेर मात्रै दसैँको अग्रिम टिकट बुकिङ खुलाइने
काठमाडौं : यातायात व्यवस्था विभागले प्रतिकूल मौसमको अवस्था हेरेर मात्रै दसैँका लागि अग्रिम टिकट बुकिङ खुलाउने भएको छ। सोमबार काठमाडौंमा चाडपर्व लक्षित सार्वजनिक यातायात व्यवस्थापनबारे सरोकारवाला निकायसँग भएको छलफलमा विभागले हालको विपद् र आगामी केही दिनको मौसम अवस्था हेरेर अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गर्ने जनाएको हो।
त्यस अवसरमा सरोकारवालाहरूले पनि जारी विपद् तथा मौसमको अवस्था हेरेर मात्रै अग्रिम टिकट बुकिङ खुलाउन सुझाव दिएका थिए। विभागका महानिर्देशक राजीव पोखरेलले चाडपर्वमा सञ्चालन हुने लामो दूरीका सवारीसाधनको ‘भेहिकल फिटनेस टेस्ट’ औपचारिकतामा सीमित नगरी कडाइका साथ वास्तविक परीक्षण गरेर मात्रै रुट परमिट दिन निर्देशन दिइने बताए। उनका अनुसार सडक जाम नियन्त्रण, सवारी छुट्ने समयको पालना तथा राजमार्गका होटल, खाजाघर र शौचालयको गुणस्तर एवं सरसफाइ अनुगमनका लागि गृह मन्त्रालयमार्फत ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवार बनाइनेछ।
बाढी तथा पहिरोका कारण अवरुद्ध बीपी राजमार्ग, हेटौँडा जोड्ने सडकलगायत प्रमुख राजमार्ग तत्काल सफा तथा मर्मत गर्न पूर्वाधार मन्त्रालयमार्फत सडक विभागलाई पत्राचार गरिने पोखरेलले जानकारी दिए। चाडपर्वको समयमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि सार्वजनिक यातायातको भाडा नबढ्ने गरी इन्धनको मूल्य स्थिर राख्न उद्योग तथा वाणिज्य मन्त्रालयमार्फत पहल गर्ने निर्णय भएको पनि उनले बताए।
छलफलमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले भाडा समायोजनसँगै चाडपर्वभर इन्धनको मूल्य स्थिर राख्न आग्रह गरे। यातायात व्यवस्था विभागले एक वर्षपछि भाडा समायोजन गरेकोमा प्रशंसा गर्दै उनले त्यस क्रममा भएका केही प्राविधिक त्रुटि सच्याउन पनि आग्रह गरे।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि राज्यले घाटा बेहोरेर भए पनि चाडपर्व अवधिभर इन्धनको मूल्य नबढाउनुपर्ने उनको सुझाव थियो। सिटौलाले यातायात व्यवसायी अनलाइन टिकटिङ तथा प्रविधिमैत्री सेवा लागू गर्न तयार रहे पनि विभागले स्पष्ट कार्यविधि र प्राविधिक मापदण्ड नबनाउँदा समस्या भइरहेको बताए।
.gif)

.png)

