चालकले भनेका थिए : मेरो गल्ती छैन, बग्गीखाना जान्न
काठमाडौं : काठमाडौंको त्रिपुरेश्वरमा बसभित्रै आगो लगाउनुअघि चालकले ट्राफिक प्रहरीसँगको विवादका क्रममा आफू मर्न तयार रहेको बताएका थिए। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो क्लिपमा चालकले भनेका छन्, ‘बरु म मर्न तयार छु, कुनै हालतमा म झुक्दिनँ, मेरो कुनै गल्ती छैन।’
आफ्नो गल्ती नभएको भन्दै उनले ट्राफिक प्रहरीको कारबाहीका लागि ‘बग्गीखाना’ जानसमेत अस्वीकार गरेका थिए। ट्राफिक प्रहरीले हर्न बजाएको विषयलाई लिएर कारबाही प्रक्रिया अघि बढाउन खोजेपछि चालकले प्रतिवाद गरेका थिए। विवाद चर्किँदै गएपछि आक्रोशित चालकले बसभित्रै आगो लगाएका हुन्।
सोमबार मध्याह्न बा.५ ख ४२७४ नम्बरको बसमा आगलागी हुँदा चालक २५ वर्षीय दावा लामा घाइते भएका छन्। उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। अस्पताल स्रोतका अनुसार उनको शरीरको अधिकांश भाग जलेको छ भने अवस्था गम्भीर छ। बसमा आगलागी भएपछि प्रहरीले ढोका फोडेर लामाको उद्धार गरेको थियो। लामा काभ्रेका हुन्।
गाडीको हर्न बजाएको विषयमा ट्राफिक प्रहरीसँग विवाद भएको ऋद्धिसिद्धि यातायातका सञ्चालक तथा बसधनी लव केसीले बताए। उनका अनुसार ट्राफिक प्रहरीले कारबाही गर्न खोजेपछि चालकले त्यसको प्रतिवाद गरेका थिए। केसीका अनुसार चालकले आफूलाई ट्राफिक प्रहरीले दुःख दिएको भन्दै यसअघि आफूसँग आत्महत्या गर्ने कुरा पनि गरेका थिए।
.gif)

.png)

