कांग्रेसका ३३९६ वडामा अधिवेशन सम्पन्न
४३ जिल्लामा वडा अधिवेशन, ३१ जिल्लामा आइतबार
काठमाडौं : नेपाली कांग्रेसले १५ औँ महाधिवेशनअन्तर्गत शनिबार ४३ जिल्लाका ३ हजार ३ सय ९६ वडामा अधिवेशन सम्पन्न गरेको जनाएको छ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै वडा अधिवेशन प्रक्रिया उत्साहप्रद रूपमा प्रारम्भ भएको बताएका छन्। अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन्।
कांग्रेसले असोज ३ र ४ गते वडा अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। सोहीअनुसार शनिबार ४३ जिल्लाका ३ हजार ३ सय ९६ वडामा अधिवेशन तथा नेतृत्व चयनको निर्वाचन सम्पन्न भएको कांग्रेसले जनाएको हो। केन्द्रीय निर्वाचन समितिका अनुसार बाँकी जिल्लाका वडामा आइतबार असोज ४ गते अधिवेशन जारी रहनेछ।
बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा भने तत्काल वडा अधिवेशन नहुने जनाइएको छ। मधेस प्रदेशअन्तर्गत सिराहाको अधिवेशन पनि पछि हुने कांग्रेसले जनाएको छ।
कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन आयोजना गर्दैछ। सोही महाधिवेशनअन्तर्गत वडा तहबाट अधिवेशन प्रक्रिया सुरु गरिएको हो।
.gif)

.png)

