कांग्रेस महाधिवेशन : आजदेखि वडा तहको निर्वाचन


२०८३ असोज ३ शनिबार १२:२५ बजे

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन आजदेखि सुरु भएको छ। पार्टी केन्द्रीय निर्वाचन समितिले आज र आइतबार स्थानीय अनुकूलताअनुसार वडा अधिवेशन गर्न सकिने कार्यतालिका सार्वजनिक गरेसँगै अधिवेशन औपचारिक रूपमा सुरु भएको हो।

कांग्रेस निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार गत पुस मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण गरेका सबै क्रियाशील सदस्यले वडा अधिवेशनमा भाग लिन पाउनेछन्।

वडा अधिवेशनले वडा सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव, एक सहसचिव र सदस्यहरू निर्वाचित गर्नेछ। कांग्रेसको विधानअनुसार गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाअन्तर्गतका वडाबाट निर्वाचित वडा सभापतिले वडा कार्यसमितिबाट कोषाध्यक्ष मनोनीत गर्न पाउनेछन्।

गाउँपालिका वडा अधिवेशनबाट कम्तीमा दुई महिला, एक दलित र ३० वर्षमुनिका एक युवासहित सात जना वडा सदस्य निर्वाचित हुनेछन्। नगर तथा उपमहानगरपालिका वडा अधिवेशनबाट दुई महिला, एक दलित र ३० वर्षमुनिका दुई युवासहित आठ जना सदस्य निर्वाचित हुने व्यवस्था छ।

महानगरपालिकाको वडा अधिवेशनबाट भने कम्तीमा तीन महिला, एक दलित र ३० वर्षमुनिका तीन युवासहित ११ जना सदस्य प्रत्यक्ष निर्वाचित हुने संयोजक खड्काले जानकारी दिए।

विधानअनुसार वडा सभापतिले स्थानीय तहअनुसार सदस्य मनोनीत गर्न पाउने व्यवस्था पनि छ। गाउँपालिका वडा सभापतिले पाँच, नगरपालिका तथा उपमहानगरपालिका वडा सभापतिले छ र महानगरपालिका वडा सभापतिले सात जना सदस्य मनोनीत गर्न पाउनेछन्।

वडा कार्यसमितिमा एकतिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था छ। साथै समावेशी सिद्धान्तअनुसार सबै समुदाय, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति र युवाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने प्रावधान रहेको खड्काले बताए।

विधानअनुसार वडा कार्यसमितिको बैठक कम्तीमा महिनामा एक पटक बस्नुपर्नेछ। आवश्यकताअनुसार क्षेत्रीय अधिवेशनका प्रतिनिधिलाई बैठकमा आमन्त्रण गर्न सकिने व्यवस्था छ। त्यस्तै, वडा कार्यसमितिले मातहतका टोल कार्यसमितिका सभापतिलाई बैठकमा अनिवार्य आमन्त्रण गर्नुपर्नेछ।

कांग्रेसको विधानले एउटै व्यक्ति क्षेत्रीय अधिवेशन प्रतिनिधि र गाउँपालिका वडा कार्यसमितिमा सदस्य हुन सक्ने व्यवस्था गरेको छ।

वडा अधिवेशनबाटै गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका क्षेत्रीय अधिवेशनका प्रतिनिधि पनि चयन हुनेछन्। क्षेत्रीय अधिवेशनका लागि सबै वडा अधिवेशनबाट समान संख्यामा प्रतिनिधि चयन गर्ने व्यवस्था गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७