गगन थापा पक्षको महाधिवेशनमा नजान कांग्रेस इतरपक्षको आह्वान
असोज ३ गतेको वडा अधिवेशनमा नजान, १५ गतेकोमा सहभागी बन्नअपिल
काठमाडौं : नेपाली कांग्रेसको इतरपक्षले सभापति गगन थापा नेतृत्वमा हुने १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी नहुन पार्टीका नेता–कार्यकर्तालाई अपिल गरेको छ। पूर्वसभापति शेरबहादुर देउवा पक्षका महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले सोमबार पत्रकार सम्मेलन गर्दै विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वले अघि बढाएको महाधिवेशन प्रक्रियामा सहभागी नहुन आग्रह गरेका हुन्।
कोइरालाले असोज ३ गतेदेखि सुरु हुने वडा अधिवेशनसहितको प्रक्रिया ‘विधि र प्रक्रिया मिचेर’ अघि बढाइएको दाबी गरे। ‘असोज ३ गतेबाट विधि, प्रक्रिया मिची सुरु गर्ने भनिएको तथाकथित अधिवेशन/महाधिवेशनमा भाग नलिन आग्रह गर्दछौँ,’ उनले भने।
उनले १४औँ महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्वले सार्वजनिक गरेको कार्यतालिकाअनुसार महाधिवेशन प्रक्रियामा सहभागी हुन पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।
‘१४औँ महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्वले सार्वजनिक गरेको कार्यतालिका अनुसार असोज १५ गतेदेखि सञ्चालन हुने वडा हुँदै विभिन्न तहको अधिवेशनमा सक्रिय सहभागिता जनाई मंसिर २१ देखि २३ गतेसम्म हुने केन्द्रीय महाधिवेशनलाई सफल बनाउन सम्पूर्ण नेपाली कांग्रेसका साथीहरूमा हार्दिक अनुरोध गर्दछौँ,’ कोइरालाले भने।
इतरपक्षले डा. शशांक कोइरालाको संयोजकत्वमा १५औँ महाधिवेशन केन्द्रीय महाधिवेशन तयारी समिति गठन गरेको छ। समितिले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने र मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय गरेको छ।
यसअघि विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वले असोज ३ गतेदेखि वडा अधिवेशन सुरु गर्ने गरी महाधिवेशन प्रक्रिया अघि बढाएको छ। थापा नेतृत्वको समितिले मंसिर १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने मिति तय गरेको छ।
दुई पक्षबीच महाधिवेशनको मिति र प्रक्रियालाई लिएर विवाद चर्किएको छ। पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले त्यसको टुंगो नलाग्दै महाधिवेशन प्रक्रिया अघि बढाउनु उचित नभएको कोइरालाको दाबी छ।
कोइरालाले पार्टी विभाजन र आन्तरिक एकतामा थप क्षति पुग्ने कुनै पनि कदम नचाल्न आग्रह गर्दै आफूहरूले सुरुदेखि नै सहमति, सहकार्य र एकताका आधारमा १५औँ महाधिवेशन सम्पन्न गर्ने प्रयास गरे पनि त्यसलाई सकारात्मक रूपमा ग्रहण नगरिएको बताएका छन्।
उनले थापा नेतृत्वको समितिले गर्ने प्रचारप्रसारबाट भ्रमित नहुन पनि नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई आग्रह गरेका छन्।
.gif)

.png)

