संसद्‌मा जनसरोकारका मुद्दा प्रभावकारी रूपमा उठाउछौं : गगन थापा


२०८३ भदौ ७ आइतबार १८:२८ बजे

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले प्रमुख प्रतिपक्षका रूपमा पार्टीले संसद्‌मा जनसरोकारका मुद्दालाई अझ सशक्त र प्रभावकारी ढंगले उठाउने बताएका छन्। कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित ‘सुवर्ण शम्शेर इकोनोमिक सिरिज’मा सहभागी हुँदै थापाले प्रतिपक्षको भूमिका प्रभावकारी बनाउन पार्टीभित्र नीतिगत विषयमा गम्भीर छलफल र स्पष्ट दृष्टिकोण आवश्यक रहेको बताए।

उनले अहिले कांग्रेस प्रतिपक्षमा रहेकाले संसद्‌मा पार्टीको जिम्मेवारी थप महत्वपूर्ण भएको उल्लेख गरे। जनताका सरोकारका विषयलाई उठाउनेदेखि सरकारका नीति तथा कामको निगरानी गर्नेसम्मका विषयमा कांग्रेसले आफ्नो भूमिका प्रभावकारी बनाउन तयारी गरिरहेको उनको भनाइ छ। ‘हामी अहिले प्रतिपक्षको जिम्मेवारीमा छौँ र संसद्‌मा हाम्रा केही निश्चित उत्तरदायित्वहरू छन्। ती जिम्मेवारीलाई कसरी कुशलतापूर्वक निर्वाह गर्ने भन्ने विषयमा गम्भीर छलफल आवश्यक छ,’ थापाले भने।

उनका अनुसार ‘सुवर्ण शम्शेर इकोनोमिक सिरिज’जस्ता कार्यक्रमले पार्टीभित्र आर्थिक तथा नीतिगत विषयमा बहसलाई थप गहिरो बनाउन सहयोग पुग्नेछ। कार्यक्रममा भएका छलफल र विज्ञका सुझावबाट कांग्रेसका नेता तथा कार्यकर्ताले विभिन्न नीतिगत विषयमा थप जानकारी हासिल गर्ने उनले बताए। थापाले यस्ता छलफलबाट प्राप्त सुझाव र उठेका विषयलाई पार्टीको आगामी नीति तथा दृष्टिकोण निर्माणमा समेटिने बताए।

उनले कार्यक्रममा उठेका महत्वपूर्ण विषय र प्राप्त सुझावलाई संसद्‌मा समेत पुर्‍याउने प्रतिबद्धता जनाए। पार्टीको संसदीय भूमिकालाई केवल विरोधमा सीमित नगरी तथ्य, नीति र जनसरोकारका आधारमा प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्ने कांग्रेसको तयारी रहेको उनको भनाइ थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७