मधेशका ८० कर्मचारीको अन्तरस्थानीय तह सरुवा
काठमाडौं : मधेश प्रदेश सरकारले प्रदेशअन्तर्गतका स्थानीय तहमा कार्यरत ८० जना कर्मचारीको अन्तरस्थानीय तह सरुवा गरेको छ। प्रदेश सरकारले प्रशासन, शिक्षा प्रशासन, स्वास्थ्य, कृषि, स्थानीय इन्जिनियरिङ, अहेब तथा सि.अनमीलगायत विभिन्न सेवा तथा समूहका सहायक चौथो तहदेखि नवौँ तहसम्मका स्थायी कर्मचारीलाई सरुवा गरेको हो।
प्रदेश सरकारका अनुसार सरुवा भएका ८० जनामध्ये ४० जना दोहोरो सहमतिका आधारमा सरुवा भएका छन्। त्यस्तै, ३८ जनालाई कर्मचारीले माग गरेको स्थानीय तहको सहमतिका आधारमा र २ जनालाई कार्यरत स्थानीय तहकै आधारमा सरुवा गरिएको छ। स्थानीय सेवाका कर्मचारीको सरुवासम्बन्धी मापदण्ड संशोधन गरेपछि प्रदेश सरकारले सोही मापदण्डअनुसार सरुवा प्रक्रिया अघि बढाएको हो।
संशोधित मापदण्डको परिच्छेद ३ को दफा ६ बमोजिम भदौ महिनाको सरुवा तालिकाअनुसार योग्यता पुगेका स्थायी कर्मचारीबाट आवेदन माग गरिएको थियो। प्राप्त आवेदन तथा तोकिएको प्रक्रियाका आधारमा ८० कर्मचारीको अन्तरस्थानीय तह सरुवा टुंग्याइएको प्रदेश सरकारले जनाएको छ।
.gif)

.png)

