रसुवा-नुवाकोटमा पुल बगेपछि फड्के-तुइनको भर

फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण


२०८३ भदौ २९ सोमबार ०९:०५ बजे

रसुवा :  बाढीले पुल बगाएपछि अवरुद्ध रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के र तुइन निर्माण गरी पैदल आवागमन सञ्चालनमा ल्याइएको छ। फलाखु खोलाको पक्की पुल बगेपछि बेत्रावतीमा बाँस तथा काठ प्रयोग गरी फड्के निर्माण गरिएको छ। त्यस्तै, स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि फलामे तुइन जडान गरिएको छ।

सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीले तत्काल आवागमन सहज बनाउन वैकल्पिक संरचना निर्माण गरिएको जानकारी दिए। स्याफ्रुबेँसीमा तुइन निर्माण सम्पन्न भए पनि दायाँबायाँको पदमार्ग व्यवस्थित गर्ने काम भइरहेको र एक–दुई दिनभित्र पूर्ण रूपमा सञ्चालनमा आउने जनाइएको छ।

बेत्रावतीमा फड्के निर्माण भएपछि नुवाकोटतर्फबाट गेर्खु, छापटार, केराघारी हुँदै बेत्रावतीसम्म आवतजावत सहज भएको प्रदेशसभा सदस्य इन्द्रप्रसाद गोतामेले बताए। फड्के निर्माणमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय बासिन्दाको सहयोग रहेको समाजसेवी गणेश श्रेष्ठले जानकारी दिए।

त्यस्तै, सुरक्षा निकायको समन्वयमा स्याफ्रुबेँसीमा फलामे तुइन तयार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले बताए। फड्के र तुइन निर्माणपछि उत्तरी रसुवाका गतलाङ, गोल्जुङ, चिलिमे, थुमन, स्यो र ग्रेलगायत क्षेत्रका बासिन्दालाई स्याफ्रुबेँसी हुँदै आवतजावत गर्न सहज भएको छ। बेत्रावतीको फड्केबाट लहरेपौवा, जीवजीवे, धैबुङ, भोर्ले र राम्चेलगायत क्षेत्रका बासिन्दालाई पनि राहत पुगेको छ।

स्थानीयवासीले भने फड्के तथा तुइनले तत्कालको समस्या समाधान गरे पनि दीर्घकालीन रूपमा बेलिब्रिज निर्माण गर्न माग गरेका छन्। बाढीले क्षति पुर्‍याएका सडक तथा पुलको पुनर्निर्माणलाई तीव्रता दिई छिटोभन्दा छिटो बेलिब्रिज निर्माण गर्न उनीहरूले आग्रह गरेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७