पशुपतिमा व्रतालुको लाम (तस्बिरमा)
काठमाडौँ : हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने महिला व्रतालु भक्तजनको बिहानैदेखि पशुपति क्षेत्रमा लाम लागेको छ। हरितालिका व्रत बसेका महिलाको सहजताका लागि पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ३ बजेदेखि खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चारवटा दर्शन मार्गको व्यवस्था गरिएको छ।
कोषका सदस्यसचिव तीर्थ श्रेष्ठका अनुसार पहिलो दर्शन मार्ग मित्रपार्क–उमाकुण्ड–दक्षिणामूर्ति–कैलाश बद्रीनरसिंह भवन हुँदै वासुकीनाथको उत्तरतर्फको ढोकाबाट मन्दिरको उत्तरतर्फ रहेको -याम्पमा पुग्ने व्यवस्था गरिएको छ। सो मार्गबाट भक्तजनलाई आराध्यदेव भगवान् पशुपतिनाथको दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने व्यवस्था मिलाइएको छ।
दोस्रो मार्ग जयवागेश्वरीबाट देब्रेतर्फ दथुटोल, पाचा गणेश, अन्नपूर्ण भण्डार हुँदै महास्नानघरअघिको १ नं. ढोकासम्म पुग्ने व्यवस्था गरिएको छ। त्यहाँ राखिएको आकासे पुलबाट भुवनेश्वरी, नासलचोक हुँदै शङ्कराचार्य मठअघिको आकासे पुलबाट प्रहरी पहरा गणको सानो ढोकाबाट दुई लाइनमा भक्तजनलाई प्रवेश गराई पशुपतिको पश्चिमतर्फ रहेको काठको -याम्पबाट दर्शन गराएर पश्चिम ढोकाबाट बाहिर निकाल्ने व्यवस्था गरिएको छ।
त्यसैगरी, तेस्रो दर्शन मार्ग सिनामङ्गल तथा विमानस्थलतर्फबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटन काउन्टरसँगै रहेको ढोकाबाट सुरु हुने व्यवस्था गरिएको छ। सो मार्गबाट राम मन्दिर, वाग्मती किनारा हुँदै आर्यघाटको पुलबाट ब्रह्मनाल पुगेर पूर्वढोकामा राखिएको ¥याम्पबाट पशुपतिनाथको पूर्वी मुहारको दर्शन गराई सोही ढोकाबाट फर्कने व्यवस्था मिलाइएको छ।
पिङ्गलास्थानतर्फबाट आउने दर्शनार्थीका लागि पिङ्गलास्थानमा रहेको ढोकाबाट प्रवेश गरी चार शिवालय–पञ्चदेवल वृद्धाश्रमको दक्षिणतर्फ रहेको ठूलो ढोकाअघि बनाइएको अस्थायी आकासे पुल हुँदै सानो ढोकाबाट चौँसट्ठी कोटीलिङ्गेश्वर पुग्ने व्यवस्था गरिएको छ। त्यहाँबाट मन्दिरको दक्षिण मुहारको दर्शन गराई उन्मत्त भैरव मन्दिरको पश्चिमतर्फ, मूलभट्ट निवासअघिबाट फर्कने व्यवस्था मिलाइएको कोषले जनाएको छ।
बिहानको समयमा भक्तजनले सहज रूपमा लाममा बसेर पशुपतिनाथको दर्शन गरिरहेका छन्। बिहान लाममा बसेका व्रतालुले करिब आधा घण्टामै दर्शन गरेर फर्कन सक्ने अवस्था रहेको कोषले जनाएको छ। भदौरे झरीका बाबजुद पनि भक्तजन लाममा बसेर दर्शन गरिरहेका छन्।
तीज पर्वका अवसरमा पशुपति क्षेत्रमा चार हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। त्यस्तै, २४ वटा धार्मिक तथा सामाजिक संस्थाका ८५५ जना स्वयंसेवक पनि खटाइएको कोषले जनाएको छ। दर्शनार्थीका लागि चन्दन वितरणको व्यवस्था सानो सदावर्त सत्तल, तिलगङ्गा, उमाकुण्ड, जयवागेश्वरी र गौशालामा गरिएको छ।
हरितालिका पर्वका अवसरमा पशुपतिनाथसहित देशभरका शिवालयमा पूजा तथा दर्शन गर्न भक्तजनको भीड लागेको छ। राजधानीका गोकर्णेश्वर, नागेश्वर, ‘सानो पशुपतिनाथ’ भनेर चिनिने वसन्तपुर दरबार क्षेत्रस्थित मक्खन महादेव, डोलेश्वर, त्रिपुरेश्वरलगायत महादेव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको लाम लागेको जनाइएको छ।
तस्बिरहरु :






.gif)

.png)

