नरमायाको दुःख : सुत्केरी हुँदा श्रीमान् हराए, उपचार खर्च जुटाउन गएका छोरा भोटेकोशीमा बेपत्ता


२०८३ भदौ २९ सोमबार ०९:२५ बजे

म्याग्दी :  बीस वर्षअघि तीन दिनकी सुत्केरी हुँदा श्रीमान् बेपत्ता भएको पीडा भोगेकी म्याग्दीको मालिका गाउँपालिका–४ छापकी ४५ वर्षीया नरमाया घर्तीको जीवनमा फेरि अर्को वज्रपात परेको छ।

नाकको गम्भीर स्वास्थ्य समस्या झेलिरहेकी नरमायाका २३ वर्षीय छोरा भुपेन्द्र रेग्मी भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता भएका छन्। रसुवाको निर्माणाधीन जलविद्युत् आयोजनामा कामदार रहेका भुपेन्द्रले भदौ ९ गते साँझ आमालाई फोन गरेका थिए।

‘असोजमा उपचारका लागि काठमाडौं जाने, दसैँअघि बिहे गर्ने र पोखरा गएर बस्ने योजना सुनाएका थिए,’ नरमायाले भनिन्, ‘१० गतेदेखि छोरासँग सम्पर्क भएको छैन।’

नयाँ नम्बरबाट फोन आउँदा नरमायालाई कतै छोराले फोन गरेको हो कि भन्ने आशा लाग्छ। छोरा खोजीका लागि स्थानीय जनप्रतिनिधि, निर्माण कम्पनी, आयोजना तथा सरकारी निकायसँग गुहार मागिरहेकी नरमायालाई काठमाडौंबाट घर फर्कने आँटसमेत आएको छैन।

‘छोराको अवस्था टुंगो नलागी कसरी घर जानु ?’ नरमायाले भनिन्, ‘तीन दिनकी सुत्केरी हुँदा श्रीमान् बेपत्ता हुनुभयो। भोटेकोशीको बाढीले मेरो भरोसा खोस्यो, झन् पीडा थपिदियो।’

खेतीकिसानी गरेर जीवन निर्वाह गरिरहेकी नरमायाका श्रीमान् नन्दबहादुर रेग्मी बेपत्ता भएको २० वर्ष पुगेको छ। नन्दबहादुर दरवाङको एक किराना पसलमा बजार प्रतिनिधिका रूपमा काम गर्थे।

नन्दबहादुर बेपत्ता हुँदा नरमायाकी छोरी तीन दिनकी थिइन्। उनको अवस्था पत्ता नलागेपछि आफन्त र गाउँलेको सल्लाहमा धार्मिक विधिअनुसार काजकिरिया गरिएको छ।

आर्थिक अभावका कारण अदालतबाट श्रीमान्को न्यायिक मृत्यु प्रमाणित गराउन नसकेको नरमायाले बताइन्। नन्दबहादुरले नागरिकतासमेत बनाएका थिएनन् भने उनीहरूबीच कागजी रूपमा विवाह दर्ता पनि भएको थिएन।

आवश्यक प्रक्रिया पूरा गर्न नसक्दा नरमाया सरकारले दिने सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित छिन्।

कक्षा ८ सम्म पढेका भुपेन्द्रले ज्याला–मजदुरी गरेर बहिनीलाई कक्षा १० सम्म पढाएका थिए। गत जेठमा आमाको नाकमा समस्या देखिएपछि उनले आमालाई दुई महिना गण्डकी अस्पतालमा उपचार गराएका थिए।

पोखराबाट आमालाई घर पठाएर भुपेन्द्र मजदुरीका लागि रसुवा गएका थिए। नरमायाको नाकको समस्या अझै पहिचान भएको छैन। उनले मासिक करिब २१ हजार रुपैयाँको औषधि सेवन गर्नुपर्छ।

आमालाई थप उपचारका लागि असोजमा काठमाडौं लैजाने योजना भुपेन्द्रले बनाएका थिए। तर, उपचारका लागि पैसा जुटाउन रसुवा पुगेका उनी आफैँ भोटेकोशीको बाढीमा बेपत्ता भएका छन्। स्थानीय ओखरबोट माध्यमिक विद्यालयका शिक्षक नवीन पुनका अनुसार नरमायाको जीवनमा एकपछि अर्को वज्रपात परेको छ।

‘नरमायालाई चिकित्सकले ब्रेन ट्युमरको आशंका गरेर थप उपचारका लागि काठमाडौं वा भारत जान भनेपछि पैसा जुटाउन रसुवा पुगेका भुपेन्द्रलाई बाढीले बेपत्ता बनायो,’ उनले भने, ‘नरमायासामु बेपत्ता छोरा खोज्ने मात्रै होइन, आफ्नो उपचार कसरी गर्ने भन्ने चुनौती पनि थपिएको छ।’बागलुङमा विवाह भएकी नरमायाकी छोरीको बच्चा सानो भएकाले दाजुको खोजी र आमाको उपचारका लागि स्रोत जुटाउन उनलाई सघाउन सकेकी छैनन्।

शिक्षक पुनको अगुवाइमा नरमायाको उपचारका लागि सहयोग संकलन अभियान सञ्चालन गरिएको छ। ‘एक हप्ताको अवधिमा सामाजिक सञ्जालमार्फत गरेको अपिलबाट नरमायाको खातामा करिब दुई लाख ५० हजार रुपैयाँ जम्मा भएको छ। प्रतिबद्धता जनाएका सबैले सहयोग गरेमा करिब आठ लाख रुपैयाँ जुट्ने अनुमान गरेको छु,’ पुनले भने, ‘रोग पहिचान गरी उपचार गरिदिन पाए हुन्थ्यो। तर अस्पतालमा कुरुवा बसिदिने परिवारका सदस्य र आफन्तसमेत नभएकाले अप्ठ्यारो परेको छ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७