बागमतीका कर्मचारीको तलबमान समायोजन

अस्थायी दरबन्दी र प्रोत्साहन भत्ताबारे पनि निर्णय


२०८३ भदौ २५ बिहीबार १९:१२ बजे

काठमाडौं : बागमती प्रदेश सरकारले प्रदेश मातहत कार्यरत राष्ट्रसेवक कर्मचारीको तलबमान संघीय सरकारले परिमार्जन गरेको नयाँ तलब संरचनाअनुसार समायोजन गरी लागू गर्ने निर्णय गरेको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले कर्मचारीसम्बन्धी तीनवटा महत्त्वपूर्ण निर्णय गरेको हो। बैठकले प्रदेशका विभिन्न निकायमा कार्यरत अस्थायी कर्मचारीका लागि आवश्यक सालबसाली अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको प्रस्तावमा यस्तो निर्णय गरिएको हो।

यसैगरी अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीले पाउँदै आएको प्रोत्साहन भत्तालाई व्यवस्थित र न्यायसंगत बनाउन अध्ययन कार्यदल गठन गर्ने निर्णय भएको छ। कार्यदलले हालको प्रोत्साहन भत्ता व्यवस्थाको अध्ययन गरी आवश्यक सुधार तथा व्यवस्थापनका लागि सुझाव दिनेछ। यससँगै प्रदेश सरकारले स्थायी कर्मचारीको तलबमान, अस्थायी कर्मचारीको दरबन्दी तथा अस्थायी र करार कर्मचारीको प्रोत्साहन भत्तासम्बन्धी व्यवस्थालाई छुट्टाछुट्टै सम्बोधन गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठकले मकवानपुरका दुई प्राविधिक कार्यालयलाई पुनः छुट्टाछुट्टै सञ्चालन गर्ने निर्णयसमेत गरेको छ। चित्लाङस्थित बाख्रा विकास केन्द्र र कुलेखानीस्थित मत्स्य विकास केन्द्रलाई प्रशासनिक पुनर्संरचनाका क्रममा यसअघि एउटै संरचनामा गाभिएको थियो।

 

प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीका अनुसार दुवै केन्द्रको कार्यप्रकृति फरक रहेकाले संयुक्त संरचनाबाट कार्यसम्पादनमा जटिलता देखिएपछि पुनः अलग गर्ने निर्णय गरिएको हो।

सरकारले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एन्ड एम) को कामलाई पनि अघि बढाइरहेको जनाएको छ। कार्यालय संख्या र खर्च घटाउने क्रममा विगतमा कार्यक्षेत्र नमिल्ने निकायसमेत एकीकृत गरिएकाले संगठन संरचना, दरबन्दी र जिम्मेवारी पुनरावलोकन गर्न लागिएको मन्त्री केसीले बताए।

ओ एन्ड एमसम्बन्धी गृहकार्य अन्तिम चरणमा पुगेको र आगामी मन्त्रिपरिषद् बैठकमा यससम्बन्धी थप प्रस्ताव पेस हुने सरकारको भनाइ छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७