भोटेकोशी बाढीले खोसेको खुसी : रित्तिएका काख र सुनसान आँगन


२०८३ भदौ २९ सोमबार ०९:१८ बजे

राँझा (बाँके) :  भोटेकोशी बाढीमा गाउँका पाँच जना बेपत्ता भएपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुरस्थित थपुवागाउँका घर–आँगन सुनसान छन्।

हरेक वर्ष तीजको आगमनसँगै गाउँमा छुट्टै रौनक छाउँथ्यो। मादलको ताल, रातो सारीको झिलिमिली र आँगनभरि गुञ्जिने तीजका भाकाले गाउँ उत्सवमय बन्थ्यो। तर, यस वर्ष थपुवागाउँमा चाडपर्वको खुसी होइन, बाढीले निम्त्याएको शोक छाएको छ।

भदौ १० गते भोटेकोशीमा आएको बाढीमा गाउँका पाँच जना बेपत्ता भएपछि सिङ्गो गाउँ शोकमा डुबेको छ। रसुवा भन्सार कार्यालय, टिमुरे क्षेत्रमा काम गर्दै आएका ५३ वर्षीय शेरसिंह रोकाय, ५६ वर्षीया विष्णुमती रोकाय र उनीहरूलाई भेट्न तथा गोसाइँकुण्ड दर्शन गर्न पुगेका १९ वर्षीय छोरा दीपक रोकाय बाढीसँगै बेपत्ता भएका छन्।

बुढेसकालको सहारा मानिएका एक्ला छोरा तथा जीवनका आधार बनेका दाजु–भाउजू एकैपटक बेपत्ता भएपछि अनलाल रोकायको परिवारमा सन्नाटा छाएको छ। ढोकाको सङ्घारमा आँखा ओछ्याएर ‘कतै फर्किहाल्छन् कि’ भन्ने आशा र असह्य पीडाबीच परिवारजन उनीहरूको प्रतीक्षामा छन्।

त्यसैगरी, रोजगारीका लागि रसुवा पुगेका आराम दमाई र उजना दमाई पनि सोही बाढीमा बेपत्ता भएका छन्। उनीहरूका १६ वर्षीय छोरा सुभाष नेपाली, ११ वर्षीय छोरा अश्विन र ९ वर्षीया छोरी स्मारिका आमा–बुबा फर्किने आशामा दिन बिताइरहेका छन्।

तीजको सङ्घारमा रहेका यी बालबालिकाको जीवनमा अभिभावकको बेपत्ताले गहिरो पीडा थपेको छ। उनीहरूको घरमा चाडपर्वको उमङ्गभन्दा आमा–बुबाको प्रतीक्षा र अनिश्चितताको अवस्था छ।

स्थानीयवासी टेकराज जैसीका अनुसार गाउँका पाँच जना बेपत्ता भएपछि कसैको मनमा पनि चाडपर्वको उमङ्ग छैन। ‘गाउँका पाँच–पाँच जना सदस्य बेपत्ता हुँदा सिङ्गो गाउँ नै असह्य पीडामा छ, यस्तो बेला तीज कसरी मनाउनु ?’ उनले भने, ‘गाउँलेले यतिबेला पर्वको तडकभडक त्यागेर पीडित परिवारको घाउमा मलम लगाउने प्रयास गरिरहेका छन्।’

नेपालगञ्ज–२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाले बेपत्ताहरूको खोजीलाई निरन्तरता दिन तथा पीडित परिवार, विशेषगरी सहाराविहीन बनेका आराम र उजनाका बालबालिकाको पालनपोषण र शिक्षाका लागि आवश्यक समन्वय तथा सहयोग गर्ने प्रतिबद्धता जनाए।

‘यसपालिको तीजमा थपुवागाउँले गीत र नृत्य होइन, वियोग र प्रार्थना रोजेको छ,’ उनले भने, ‘हराएका ती प्यारा अनुहारहरू कतैबाट सकुशल फर्किऊन् भन्ने आशामा रहेका छौँ।’

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार रसुवाको भोटेकोशी बाढीपछि बाँकेका २३ जना अझै बेपत्ता छन्। तीन जनाको शव सनाखत भई मृत्यु घोषणा गरिएको छ भने ३२ जनाको सकुशल उद्धार गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७