अनुसन्धानका एसपीसँग विवाहेत्तर सम्बन्धमा रहेकी महिला आपराधिक लाभको मुद्दामा जेल चलान

७ लाख दिएपछि ५० लाख मागेको आरोप


२०८३ भदौ २५ बिहीबार १८:२९ बजे
AI Photo

काठमाडौं : राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक प्रकाश आचार्यसँग विवाहेत्तर सम्बन्ध रहेको बताइएकी ४६ वर्षीया कुसुम गुभाजु आपराधिक लाभ र विद्युतीय कारोबारसम्बन्धी कसुरमा पुर्पक्षका लागि थुनामा गएकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंमा गत साउन २६ गते दर्ता भएको जाहेरीका आधारमा भोलिपल्ट पक्राउ परेकी गुभाजुलाई बुधबार थुनछेक बहसका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको थियो। 

जिल्ला न्यायाधीश जगतबहादुर पौडेलको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। गुभाजु नेपाली सेनाका तल्लो तहका सैनिकसँग वैवाहिक सम्बन्धमा रहेकी थिइन्। आचार्यसँग नजिकिएपछि पति–पत्नीबीच सम्बन्ध बिग्रिएको र पछि गुभाजुले सम्बन्धविच्छेद गरेको प्रहरी बयानमा उल्लेख छ। उनीहरूबाट एक छोरा र एक छोरी छन्।

सम्बन्ध विच्छेदपछि आचार्यले गुभाजुको बैंक खातामा दुई पटक गरी २७ लाख रुपैयाँ पठाएको अनुसन्धानबाट खुलेको छ। आचार्यले भने गुभाजुले थप ५० लाख रुपैयाँ माग गर्दै विभिन्न माध्यमबाट धम्की दिएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए। आचार्यले जाहेरीमा आफू र गुभाजुबीच प्रेम तथा भेटघाट भएको स्वीकार गर्दै उनीहरूबीच भएका संवादलाई स्क्रिनसट गरेर राखेको र त्यसलाई देखाएर आर्थिक लाभ लिन खोजेको आरोप लगाएका छन्। तर, प्रहरी बयानमा गुभाजुले आचार्यले लगाएको आरोप अस्वीकार गरेकी छन्। 

आफूहरूबीच प्रेम सम्बन्ध रहेको र आचार्यकै आश्वासनमा पतिसँग सम्बन्धविच्छेद गरेको उनको दाबी छ। सम्बन्ध विच्छेदपछि आचार्यले नै आफूलाई कोठा खोजेर राखिदिएको उनले बयानमा बताएकी छन्। गुभाजुले आचार्यले बेवास्ता गरेपछि आफूले रिसको आवेगमा केही म्यासेज पठाएको स्वीकारे पनि आर्थिक लाभ लिन धम्की दिएको आरोप अस्वीकार गरेकी छन्। प्रहरी बयानअनुसार, उनीहरू केही वर्षअघि तीजका बेला कालुपाँडे डाँडा घुम्न गएको र त्यहीँ रात सँगै बसेको गुभाजुको दाबी छ। आचार्यले भने उक्त दाबी अस्वीकार गरेका छन्।  

गुभाजुका विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले मुलुकी अपराध संहिता, २०७४ को दफा २५३ बमोजिम आपराधिक लाभको कसुरमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना मागदाबी गरेको छ। यस्तै, विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम ५ वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवाना मागदाबी गरिएको छ। सोही मुद्दामा जिल्ला अदालतले गुभाजुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

आचार्य हाल सम्पत्ति जाँचबुझ आयोगमा काजमा कार्यरत छन्। घटना हुँदा उनी जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा कार्यरत थिए। गुल्मीका आचार्यले २०६७ सालमा अनुसन्धान अधिकृत (इन्स्पेक्टर) बाट राष्ट्रिय अनुसन्धान विभागको सेवा सुरु गरेका थिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७