३ हजार ४ सय रुपैयाँ तिर्न नसक्दा अस्पतालले निकालिदियोः फुटपाथमै जन्माइन बबिताले बच्चा


२०८३ भदौ २५ बिहीबार १३:२३ बजे

जनकपुरधाम : प्रसवपीडाले छटपटाइरहेकी सप्तरीकी एक महिलाले सरकारी अस्पतालकै गेटबाहिर बच्चा जन्माउनुपरेको घटना सार्वजनिक भएको छ। राजविराज नगरपालिका–१४ पर्साहीकी २९ वर्षीया बबिताकुमारी पासवान बुधबार बिहान करिब २ बजे प्रसवपीडा भएपछि श्रीमान् हरेराम पासवानसँगै गजेन्द्रनारायण सिंह अस्पताल पुगेकी थिइन्। 

अस्पताल पुगेपछि चिकित्सकले भिडियो एक्स–रेसहित केही परीक्षण गर्न लेखिदिएका थिए। परीक्षणका लागि करिब ३ हजार ४ सय रुपैयाँ आवश्यक पर्ने भएपछि आफूहरूसँग तत्काल रकम नभएको हरेरामले बताए। रातिको समयमा रकम जुटाउन नसक्ने र बिहान रकम तिर्ने भन्दै आग्रह गर्दा पनि अस्पतालले सुनुवाइ नगरेको उनको आरोप छ। उनका अनुसार रकम नभएको भन्दै बबितालाई अस्पतालबाट बाहिर निकालिएको थियो। 

हरेराम श्रीमतीको उपचारका लागि रकम खोज्न बाहिर गए। तर, रकम जुटाउन नपाउँदै बबिताको प्रसवपीडा झन् बढ्यो। अन्ततः बिहान करिब ४ बजे बबिताले अस्पतालको गेटबाहिरै बच्चा जन्माइन्। ‘पैसा नभएकै कारण श्रीमतीलाई अस्पतालबाट बाहिर निकालियो,’ हरेरामले भने, ‘रकम खोज्न म बाहिर गएको थिएँ। फर्केर आउँदा श्रीमतीले अस्पतालको गेटमै बच्चा जन्माइसकेकी थिइन्।’

बबिताले पनि प्रसवपीडामा रहेकै अवस्थामा आफूलाई अस्पतालबाट बाहिर निकालिएको बताएकी छन्। बच्चा जन्मिएको घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना चर्चामा आएको हो। बबिता दलित समुदायकी विपन्न महिला हुन्। प्रसवजस्तो संवेदनशील अवस्थामा रहेकी महिलाले सरकारी अस्पतालको गेटबाहिरै बच्चा जन्माउनुपर्ने अवस्थाले विपन्न नागरिकको स्वास्थ्य सेवामा पहुँच र अस्पतालको सेवा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ।

अस्पतालबाहिर फार्मेसी सञ्चालन गर्दै आएका तुलानाथ माझीले घटना आफ्नो पसलको सीसीटीभी क्यामेरामा कैद भएको बताए। उनले अस्पतालमा चिकित्सकहरूको ‘सिन्डिकेट’ चलेको आरोपसमेत लगाए। उनको आरोपको स्वतन्त्र पुष्टि भने हुन बाँकी छ। घटनाबारे अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रञ्जित झाको प्रतिक्रिया लिन खोज्दा उनको मोबाइल फोन ‘अफ’ रहेको थियो। अस्पताल प्रशासनको आधिकारिक धारणा भने सार्वजनिक भएको छैन।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७