अविनाश विक्रम शाहको ‘एलिफेन्ट इन द फग’ तीन अन्तर्राष्ट्रिय विधामा मनोनयन
काठमाडौं : निर्देशक अविनाश विक्रम शाहको चलचित्र ‘एलिफेन्ट इन द फग’ १९औँ एसिया प्यासिफिक स्क्रिन अवार्डका तीन विधामा मनोनयनमा परेको छ। एसिया प्यासिफिक स्क्रिन एकेडेमीले सार्वजनिक गरेको मनोनयन सूचीमा नेपालसहित ३२ देश तथा क्षेत्रका ३६ चलचित्र समेटिएका छन्। शाह निर्देशित चलचित्र उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनय विधामा मनोनीत भएको हो।
यस वर्षको अवार्डमा युवा फिल्ममेकरको उपस्थिति बलियो देखिएको छ। मनोनयनमा परेका चलचित्रका ६९ प्रतिशत निर्देशकले आफ्नो पहिलो वा दोस्रो फिचर फिल्म प्रस्तुत गरेका छन्। उत्कृष्ट फिल्म विधाका पाँचै मनोनीत चलचित्र पहिलोपटक फिचर निर्देशन गरेका निर्देशकले बनाएका हुन्।
.jpeg)
यस वर्ष अन्तर्राष्ट्रिय सहकार्यमा बनेका चलचित्रको संख्या पनि उल्लेखनीय रहेको छ। ‘एलिफेन्ट इन द फग’ नेपालसँगै जर्मनी, ब्राजिल, फ्रान्स र नर्वेका निर्माण संस्थाको सहकार्यमा बनेको हो। अस्ट्रेलियामा आगामी अक्टोबर ३० मा अवार्ड समारोह आयोजना हुनेछ।
घरेलु बक्सअफिसमा गत शुक्रबारदेखि प्रदर्शनरत ‘एलिफेन्ट इन द फग’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेका बेला अन्तर्राष्ट्रिय अवार्डमा तीन विधामा मनोनयन पाएको हो। चलचित्रले जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको कथा प्रस्तुत गर्छ। चलचित्रमा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग र आकांक्षा कार्कीलगायत कलाकारको अभिनय छ।
चलचित्रको पटकथा निर्देशक शाहले नै लेखेका हुन् भने कथा अविनाश विक्रम शाह र सन्दीप बादलको हो। चलचित्रका निर्मातामा नेपालबाट अनुप पौडेल, फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी तथा जर्मनीबाट माइकल हेनरिक्स रहेका छन्। सह–निर्मातामा प्रचण्डमान श्रेष्ठ, तातियाना लेइते, लेओनार्दो मेक्की, पल जिश्लर, भेरोना मेइर स्टोर्म, मार्टिन रेचबक, सुसन्ने मान, कुमुदिनी गुरुङ श्रेष्ठ र सोहम ढकाल छन्।
चार्ल्स अडिनेट लाइन प्रोड्युसर रहेको चलचित्रमा केकी अधिकारी, प्रतीक सुवेदी र प्रतिभा जोशी एशोसिएट निर्माता छन्। अन्डरग्राउन्ड टकिज नेपालको तर्फबाट प्रवेश गुरुङ सह–निर्माता तथा आदित्य बस्नेत, अनुज पौड्याल, सन्तोष भट्टराई र बेन्जामिन ग्रुब्स एशोसिएट निर्माता रहेका छन्।
.jpeg)
.gif)

.png)

