‘लाइन होइन अनलाइन’ को सरकारी नारा सिभिल अस्पतालमा गायब
सरकारी बिदाको उपहारः अस्पतालमा बिरामीको ‘कुम्भमेला’
काठमाडौँः सरकार ‘लाइन होइन अनलाइन’ भन्दै सार्वजनिक सेवा डिजिटल बनाउने दाबी गरिरहेको छ। ‘अस्पताल सेवा सुधार कार्यविधि, २०८२’ ले पनि अनलाइन बुकिङ, डिजिटल भुक्तानी, रिपोर्ट डिस्प्याच र भीड व्यवस्थापनमा प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको छ। तर काठमाडौँको मीनभवनस्थित निजामती कर्मचारी (सिभिल) अस्पताल पुग्दा सरकारी नाराभन्दा ठीक उल्टो दृश्य देखिन्छ । अस्पतालको मूल ढोकामा एकाबिहानै पुग्ने हो भने मानिसहरू उपचार खोज्न आएका हुन् वा कुनै ठूलो परीक्षाको पालो पर्खिरहेका छन् भन्ने छुट्याउन गाह्रो पर्छ। घामका झुल्कोहरूले काठमाडौँ उपत्यकालाई स्पर्श नगर्दै, बिहानको ठिक ४ नबज्दै अस्पताल परिसरमा मानिसहरूको बाक्लो उपस्थिति भइसकेको हुन्छ।
बिहान ४ बज्नुअघि नै सुरु हुन्छ। लामो लाइन। कसैको हातमा पुरानो अस्पताल पुर्जा छ, कसैसँग पानीको बोतल। कोही किताब बोकेर आएका छन्, कोही छाता र हेल्मेटसँगै भुइँमा बसेर आफ्नो पालो जोगाइरहेका छन्। ओपीडीको काउन्टर बिहान ७ बजे खुल्छ। चिकित्सकहरू साढे ९ बजेपछि मात्र बिरामी हेर्न कक्षमा प्रवेश गर्छन्। तर टिकट नपाइएला, पालो छुट्ला भन्ने डरले बिरामी र उनीहरूका आफन्त मध्यरातमै ओछ्यान छाडेर अस्पताल पुग्छन्। यो केवल एउटा अस्पतालको भीडको कथा होइन। यो ‘डिजिटल नेपाल’ को नारामुनि नागरिकले भोगिरहेको सार्वजनिक स्वास्थ्य सेवाको वास्तविकताको एउटा प्रतिनिधि दृश्य हो।
‘पेमेन्ट’ देखि ‘रिपोर्ट’ सम्मः बिरामीलाई पाइलैपिच्छे लाइन
बिहान ७ बजे अस्पताल पुगेर टिकट, रगत परीक्षण, ईसीजी र भिडियो एक्सरेको भुक्तानी प्रक्रिया पूरा गर्दा नै ९ बजिसक्छ। त्यसपछि वास्तविक जाँचका लागि फेरि घण्टौँ पर्खनुपर्छ। एक सेवाग्राहीले बिहानै सबै प्रक्रिया पूरा गरे पनि भिडियो एक्सरेका लागि दिउँसो १ बजेको पालो पाए। सामान्य जाँचका लागि मात्रै उनले करिब ६ घण्टा अस्पतालमा बिताउनुपर्यो। अस्पतालमा लाइनको कथा टिकटबाट सकिँदैन। टिकटपछि जाँच, रिपोर्ट र औषधिसम्म पुग्दा सेवाग्राहीले पटक–पटक लाइन बस्नुपर्छ। एउटै तलामा सर्वसाधारण र निजामती कर्मचारीका छुट्टाछुट्टै टिकट, बिलिङ, फार्मेसी, नमुना सङ्कलन र रिपोर्ट वितरणका करिब १६ वटा लाइन छन्। भीड यति बाक्लो हुन्छ कि बिरामीलाई स्वास फेर्न र हिँडडुल गर्नसमेत कठिन हुन्छ।
सरकारी बिदाको उपहारः अस्पतालमा बिरामीको ‘कुम्भमेला’
पछिल्लो समय सरकारले सातामा दुई दिन ९शनिबार र आइतबार० सार्वजनिक बिदा दिने निर्णय गरेपछि अस्पतालको चाप झन थेगिनसक्नु बनेको छ। अस्पताल निर्माण हुँदा दैनिक ३०० देखि ४०० बिरामीका लागि मात्र पूर्वाधार तयार पारिएको थियो। पहिले दैनिक एक हजारको हाराहारीमा आउने बिरामीको सङ्ख्या अहिले १५ सय नाघेको छ। हप्ताको सुरुवाती दिनहरू, विशेष गरी सोमबार र मङ्गलबार, सिभिल अस्पतालको दृश्य होलीको वसन्तपुर वा शनिबारको सङ्कटा मन्दिरको भिडभन्दा कम हुँदैन। अस्पतालमा अहिले १६३ जना चिकित्सक छन् । जसमा १०५ स्थायी र ५८ करार छन् । बढ्दो बिरामी चापका कारण प्रति चिकित्सक बिरामी सङ्ख्या ३० बाट बढाएर ३५ पुर्याइएको छ। तर पुराना र आकस्मिक बिरामीसमेत हेर्नुपर्ने भएकाले एक चिकित्सकले दैनिक ५० जनासम्म बिरामी हेर्नुपर्ने अवस्था छ। अर्थात्, समस्या केवल ‘लाइन व्यवस्थापन’को होइन। अस्पतालको भौतिक संरचना र जनशक्तिको क्षमताभन्दा बिरामीको माग धेरै माथि पुगेको छ।
‘अनलाइन’ मा भाग्यमानी, अस्पतालमा फेरि उही लाइन
सरकारले डिजिटल सेवा विस्तारलाई प्राथमिकता दिएको छ। सिभिल अस्पतालमा पनि अनलाइन अपोइन्टमेन्टको व्यवस्था छ। तर यसको पहुँच र प्रभावकारितामाथि प्रश्न उठ्ने अवस्था छ । हाल आधाजति चिकित्सकका लागि मात्र अनलाइन अपोइन्टमेन्ट लिन मिल्छ । ३५ जनाको कोटामध्ये २० सिट अनलाइन, १० सर्वसाधारण र ५ निजामती कर्मचारीका लागि छुट्याइएको छ । अघिल्लो दिन दिउँसो १२ बजे अनलाइन बुकिङ खुल्न नपाउँदै केही मिनेटमै कोटा सकिन्छ । दुई–तीन दिनसम्म लगातार प्रयास गर्दा पनि धेरै सेवाग्राहीले टिकट पाउन नसकेको गुनासो गर्छन्। अनलाइन टिकट पाउने भाग्यमानीको समस्या पनि त्यत्तिमै सकिँदैन। अस्पताल पुगेपछि ओपीडी टिकटका लागि फेरि भौतिक लाइन बस्नुपर्छ। यसले एउटा गम्भीर प्रश्न जन्माउँछ । यदि अनलाइन टिकट लिएपछि पनि अस्पतालमै गएर लाइन बस्नुपर्छ भने त्यो डिजिटल प्रणालीले नागरिकको कुन समस्या समाधान गरिरहेको छ ?
डिजिटल सेवाको अर्को विरोधाभास भुक्तानीमा देखिन्छ । काउन्टरमा क्यूआर कोड नचल्ने र डिजिटल भुक्तानी नलिने अवस्थाका कारण नगद बोकेर नआएका बिरामीहरू घण्टौँ लाइन बसेपछि पनि टिकट नलिई घर फर्किन बाध्य छन्। ‘लाइन होइन अनलाइन’ को नाराबीच डिजिटल भुक्तानीसमेत सहज नहुनुले सरकारको डिजिटल सेवा विस्तार र अस्पतालको वास्तविक सेवाबीचको दूरी स्पष्ट देखाउँछ।
घण्टौँ लाइनपछि ‘औषधि सकियो’ अस्पतालमा बिरामीको समय र धैर्यको क्षय
अस्पतालको भीड र व्यवस्थापनको समस्या बुझ्न ठूला तथ्याङ्कभन्दा त्यहाँ उपचारका लागि पुगेका नागरिकका अनुभव पर्याप्त छन्। लाइनमा रहेका एक सेवाग्राहीले भने, ‘लाइन लागेको छु। पालो कहिले आउने हो थाहा छैन। डाक्टर त ९ बजे मात्र आउँछन् रे। यहीँ क्याटिनमा खाना खानुपर्ला।’ अर्का बिरामीको गुनासो थियो ‘बिहानैदेखि खाली पेट बसेको, तर आज एक्सरेको पालो नै आएन।’ बिहान ५ बजेदेखि लाइनमा रहेका एक जनाले भने, ‘ ५ बजेदेखि ८ बजेसम्म कुरेको, अहिले नै आजको कोटा सकिइसक्यो भन्छन्।’ ११ बजेदेखि लाइनमा रहेका अर्का बिरामीले भने, ‘११ बजेदेखि लाइनमा छु, अहिले भन्छन् खाजा ब्रेक भयो।’ औषधिका लागि लाइनमा रहेका एक जनाले भने, ‘५० जना अगाडि लाइन बसेको, अहिले भन्छन् औषधि नै सकियो।’ अर्का बिरामीले भने, ‘बल्ल पालो आयो भने पनि फेरि अर्को कोठामा जानू भन्छन्, अनि मात्र काम बन्छ।’ गलत लाइनमा लामो समय बसेको अनुभव सुनाउँदै एक सेवाग्राहीले भने, ‘एक घंटे बाद पता चला कि यह तो एक्स–रे की लाइन ही नहीं थी, पहले भुगतान करने के लिए लाइन में लगना था।’ यी भनाइहरू कुनै एउटा दिनको असुविधा मात्र होइनन्। सेवाको प्रत्येक चरणमा समन्वयको अभाव हुँदा बिरामीले समय, श्रम र धैर्य तीनै गुमाउनुपरेको देखिन्छ।
तारा, मैया, विविन र कविन्द्रको कथा
पेटसम्बन्धी समस्या भएर कपनबाट बिहानै ६ बजे अस्पताल आइपुगेकी ५० वर्षीया तारा कुमारी राईको सास्ती होस् वा हात भाँचिएर भुइँमा दुखाइले छटपटाउँदै पालो पर्खिरहेकी थानकोटकी मैया श्रेष्ठको अवस्था सिभिल अस्पतालको भीडले बिरामीलाई रोगसँगै अर्को संघर्ष पनि गर्न बाध्य बनाएको छ। टिकट काउन्टरमा टोकन सकिएपछि सेवा नपाई फर्किएकी विविन देवी राई र बिहान ७ बजेको टिकटका लागि ५ बजेदेखि लाइन बसेर साढे ३ घण्टा डाक्टर पर्खिन बाध्य कविन्द्र नेपालको आक्रोशले पनि त्यही अवस्था देखाउँछ। सुविन मगरजस्ता सेवाग्राहीको माग धेरै ठूलो छैन। कम्तीमा व्यवस्थित टोकन प्रणाली लागू होस् र पालोका लागि घण्टौँ भुइँमा बस्न नपरोस्।
आश्वासनको क्षितिजमा थन्किएका किओस्क र आधुनिक योजनाहरू
अस्पताल प्रशासन भने समस्या समाधानका लागि प्रविधिको प्रयोग बढाउने तयारीमा रहेको बताउँछ। प्रयोगविहीन तीनवटा किओस्क मेसिनलाई पुनः सञ्चालनमा ल्याएर नागरिक एपसँग जोड्ने योजना अघि सारिएको छ। नयाँ प्रणालीमा बालबालिका, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई प्राथमिकता दिने टोकन व्यवस्था विकास गर्ने तयारी छ। बिरामीको पालो आउनुभन्दा दुई–तीन जना अगाडि नै मोबाइलमा सूचना पठाउने व्यवस्था गर्ने योजना पनि छ। डिजिटल प्रविधिमा अभ्यस्त नभएका बिरामीका लागि ५० भन्दा बढी डिस्प्ले र स्पिकर पुनः प्रयोगमा ल्याउने तयारी अस्पतालको छ। अस्पतालले वेबसाइटमा ओपीडी तालिका राखेको र अनलाइन रिपोर्ट डिस्प्याच प्रणाली सुरु गरिसकेको जनाएको छ। सेवाग्राहीले युजरनेम र पासवर्ड प्रयोग गरेर आफ्नो रिपोर्ट डाउनलोड गर्न सक्ने व्यवस्था भइसकेको अस्पतालको आईटी शाखाले जनाएको छ। तर योजना र कार्यान्वयनबीचको दूरी अझै लामो देखिन्छ।
७ बजे टिकट, ९ बजे डाक्टर
अस्पताल प्रशासनले ओपीडी टिकट बिहान ७ बजेदेखि खुल्ने र चिकित्सकले ९ बजेदेखि सेवा दिन थाल्ने जनाएको छ। शाखा अधिकृतका अनुसार चिकित्सकहरू ओपीडीमा जानुअघि भर्ना भएका बिरामीको राउन्डमा जाने भएकाले समय लाग्ने गरेको हो। अस्पताल प्रशासनले आफ्नो क्षमताभन्दा माग बढी भएको स्वीकार गर्दै गुनासो सम्बोधन र सेवा सुधारमा काम भइरहेको जनाएको छ। तर बिरामीका लागि प्रश्न अझै उस्तै छ। उपचार लिन आएका नागरिकले आफ्नो उपचारभन्दा बढी समय लाइनमा बिताउनुपर्ने अवस्था कहिलेसम्म ?
अस्पतालको समस्या केवल टिकट र अनलाइन प्रणालीमा सीमित छैन। सीमित चिकित्सक संख्या, साँघुरो भौतिक संरचना, अत्यधिक बिरामी चाप र उपकरण खराबीले सेवा प्रभावित भइरहेको छ। भिडियो एक्सरे र सीटी स्क्यानजस्ता उपकरण बिग्रिँदा मर्मत गर्न समय लाग्ने गरेको छ। एउटै तलामा धेरै सेवा केन्द्र रहेकाले बिरामी ओहोरदोहोर र लाइन व्यवस्थापन थप जटिल बनेको छ। सहायता कक्षमा कर्मचारीसमेत नभेटिने अवस्थाले सेवाग्राहीलाई थप अन्योलमा पार्छ। त्यसैले सिभिल अस्पतालको भीडलाई केवल ‘लाइन व्यवस्थापन’को समस्याका रूपमा हेर्न मिल्दैन। यो जनशक्ति, पूर्वाधार, उपकरण, प्रविधि र व्यवस्थापन सबै जोडिएको समस्या हो।
नारामा अनलाइन, व्यवहारमा बिहान ४ बजेकै लाइन
सरकारले ‘लाइन होइन अनलाइन’ भनिरहेको छ। ‘अस्पताल सेवा सुधार कार्यविधि, २०८२’ ले अनलाइन बुकिङ, रिपोर्ट डिस्प्याच, अनलाइन भुक्तानी र भीड व्यवस्थापनमा डिजिटल प्रणालीको परिकल्पना गरेको छ। तर सिभिल अस्पतालको मूल ढोकामा बिहान ४ बजेदेखि लाग्ने लाइनले यी नीति र व्यवहारबीचको खाडल देखाइरहेको छ। टिकटका लागि लाइन। जाँचका लागि लाइन। रिपोर्टका लागि लाइन। औषधिका लागि लाइन। भुक्तानीका लागि पनि लाइन। अनलाइन टिकट लिँदा पनि फेरि लाइन। क्यूआर कोड नचल्दा फेरि नगदको खोजी। उपकरण बिग्रिँदा फेरि अर्को प्रतीक्षा। चिकित्सक आउनुअघि भर्ना भएका बिरामीको राउन्ड र सीमित जनशक्तिका कारण ओपीडीमा फेरि लामो प्रतीक्षा। यसरी हेर्दा सिभिल अस्पतालको समस्या एउटा काउन्टर वा एउटा मेसिनले समाधान हुने देखिँदैन।
डिजिटल प्रणाली चाहिन्छ, तर त्यससँगै पर्याप्त चिकित्सक र स्वास्थ्यकर्मी चाहिन्छ। अनलाइन टिकट चाहिन्छ, तर त्यसले भौतिक लाइन हटाउनुपर्छ। किओस्क चाहिन्छ, तर ती सञ्चालनमा आउनुपर्छ। क्यूआर कोड राखिनुपर्छ, तर त्यसले वास्तवमै काम गर्नुपर्छ। डिस्प्ले र स्पिकर राखिनुपर्छ, तर बिरामीले आफ्नो पालो कहाँ र कहिले आउँछ भन्ने सहजै थाहा पाउनुपर्छ। नत्र ‘लाइन होइन अनलाइन’ केवल नारामै सीमित हुनेछ। र सिभिल अस्पतालको मूल ढोकामा भने घाम नउदाउँदै अर्को दिन पनि उही लाइन सुरु हुनेछ। हातमा पुर्जा, काँधमा झोला र मनमा एउटै प्रश्न लिएर, ‘आज पालो आउँछ कि फेरि फर्किनुपर्छ ?’
.gif)

.png)

