राहतसँगै स्वास्थ्य सेवा विस्तारमा जुट्यो एनआरएनए
रसुवामा स्वास्थ्य शिविरको तयारी
काठमाडौं : भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सञ्चालन गरेको मानवीय सहयोग अभियान १४औँ दिनमा पनि जारी राखेको छ।
विपद्पछि प्रभावित नागरिकलाई आवश्यक राहत उपलब्ध गराउने, स्वास्थ्य तथा सरसफाइका समस्या सम्बोधन गर्ने र जोखिममा रहेका परिवारको अवस्था पहिचान गर्ने उद्देश्यले एनआरएनएले सरकारी निकाय, स्थानीय तह, रेडक्रस तथा स्थानीयसँग समन्वय गर्दै आएको जनाएको छ।
यसैक्रममा एनआरएनए सचिवालयमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका, स्याफ्रुबेँसी, कालिका लगायत विभिन्न वडाका जनप्रतिनिधिसँग छलफल गरिएको छ। छलफलमा बाढीबाट भएको क्षति, प्रभावित परिवारको अवस्था तथा तत्काल आवश्यक राहत सामग्री र स्वास्थ्य सेवाबारे जानकारी लिइएको थियो।
स्थानीय तहबाट प्राप्त विवरणका आधारमा आवश्यक राहत सामग्री व्यवस्थापन तथा प्याकेजिङ अघि बढाइएको एनआरएनएले जनाएको छ। राहत सामग्रीसहित पदाधिकारी तथा स्वयंसेवकको टोली रसुवाका प्रभावित क्षेत्रमा जाने तयारीमा छ। टोलीले राहत वितरणसँगै प्रभावित परिवारको अवस्था र थप आवश्यकताबारे स्थलगत जानकारी लिनेछ।
यसैगरी, प्रभावित नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै एनआरएनएले जिल्ला जनस्वास्थ्य कार्यालय, रसुवासँग स्वास्थ्य शिविर सञ्चालनबारे समन्वय गरेको छ। शिविरमार्फत स्वास्थ्य परीक्षण, आवश्यक औषधि वितरण तथा स्वास्थ्य परामर्श दिने तयारी गरिएको छ। विपद्का कारण उत्पन्न हुन सक्ने मानसिक तनाव तथा आघातलाई समेत ध्यानमा राखेर आवश्यक मनोसामाजिक परामर्श र सहयोगलाई स्वास्थ्य सेवाको योजनामा समेटिएको एनआरएनएले जनाएको छ।
.gif)

.png)

