५७९ शवमध्ये ५११ अस्पतालमा, कहाँ कति ?
विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा गत बुधबार बिहान आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। बाढीले रसुवा, नुवाकोट र धादिङसहितका जिल्लामा ठूलो असर पुर्याएको छ। बाढीपछि सुरक्षा निकाय उद्धार, खोज तथा राहत कार्यमा निरन्तर जुटिरहेका छन्। तर बाढीमा परी मृत्यु भएकाहरूको शव संकलन तथा व्यवस्थापन भने चुनौतीपूर्ण बनेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा मृत्यु भएकाहरूका शव विभिन्न अस्पतालमा पुर्याउने क्रम जारी छ। प्राधिकरणका अनुसार शुक्रबार साँझसम्म फेला परेका ५७९ शवमध्ये ५११ वटा शव विभिन्न अस्पतालमा पुर्याइएको छ। ती शवलाई सम्बन्धित जिल्लाका अस्पताल तथा अन्य उपयुक्त स्थानमा व्यवस्थापन गरिएको छ।
प्राधिकरणका अनुसार रसुवामा फेला परेका तीनवटा शव जिल्ला अस्पताल धुन्चेमा राखिएको छ। धादिङमा संकलन गरिएका २७ वटा शव पोखरामा र १० वटा शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।
नुवाकोटमा फेला परेका ३८ वटा शव त्रिवि शिक्षण अस्पतालमा राखिएको प्राधिकरणले जनाएको छ। त्यस्तै चितवनमा फेला परेका शवमध्ये १७१ वटा जिल्ला अस्पताल भरतपुरमा, चारवटा नेसनल सिटी अस्पताल, दुईवटा भरतपुर सामुदायिक अस्पताल, दुईवटा नारायणी अस्पताल र ४१ वटा औद्योगिक व्यावसायिक विकास प्रतिष्ठानमा राखिएको छ।
तनहुँमा फेला परेका शवमध्ये नौवटा मणिपाल अस्पताल पोखरा, पाँचवटा प्रादेशिक अस्पताल दमौली र १४ वटा गण्डकी अस्पताल पोखरामा राखिएको छ। गोरखामा भेटिएका शवमध्ये २९ वटा प्रदेश अस्पताल गोरखामा, ११ वटा गण्डकी अस्पताल पोखरा र चारवटा नुप अस्पताल गोरखामा राखिएको छ।
नवलपरासी (सुस्ता पूर्व) मा भेटिएका शवमध्ये छवटा मध्यविन्दु नगर अस्पताल चोरमारा, ३६ वटा गैँडाकोट नगर अस्पताल, २२ वटा मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा, चारवटा जिल्ला अस्पताल पाल्पा, दुईवटा मिसन अस्पताल पाल्पा, दुईवटा लुम्बिनी अस्पताल पाल्पा र ४१ वटा गण्डकी अस्पताल पोखरामा राखिएको प्राधिकरणले जनाएको छ।
त्यस्तै पश्चिम नवलपरासीमा फेला परेका शवमध्ये आठवटा पृथ्वीचन्द्र अस्पताल परासी, ११ वटा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, तीनवटा भीम अस्पताल भैरहवा र छवटा पिपरा अस्पताल कपिलवस्तुमा राखिएको छ।
प्राधिकरणका अनुसार अन्य शवलाई पनि पायक पर्ने अस्पतालमा लैजाने तथा फेला परेका शव संकलन गरी सम्बन्धित स्थानमा पुर्याउने कार्य भइरहेको छ। बाढी प्रभावित विभिन्न क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले आगामी दिनमा थप शव फेला पर्न सक्ने र ती शवलाई समेत पहिचान तथा व्यवस्थापनका लागि सम्बन्धित अस्पताल तथा स्थानमा पुर्याउने काम भइरहेको प्राधिकरणले जनाएको छ।
.gif)

.png)

