महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति पक्राउ
विराटनगर : महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति रोहित यादव पक्राउ परेका छन्। प्रहरी कार्यालयभित्रै प्रवेश गरी लागूऔषध गाँजा बरामद भएको गाडीमा टाँसिएको स्टिकर उक्काएको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय रानीको परिसरमा अनुसन्धानका लागि राखिएको को १ च ६६२० नम्बरको मारुती भ्यानबाट यादवले 'दिव्य ज्योति अस्पताल प्रालि' लेखिएको स्टिकर उक्काएका थिए। उक्त गाडीबाट प्रहरीले ५० किलो २९० ग्राम गाँजा बरामद गरेको थियो। जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार भदौ २२ गते पक्राउ परेका यादवमाथि अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
प्रहरीले गाँजा तस्करीमा सुरक्षाकर्मीलाई झुक्क्याउन अस्पतालको स्टिकर प्रयोग गरिएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ। यता, दिव्य ज्योति अस्पतालले भने उक्त गाडी आफ्नो नभएको दाबी गरेको छ। यादव प्रहरी कार्यालयभित्र प्रवेश गरी प्रमाण नष्ट गर्न खोजेको विषयमा इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर प्रवीण घिमिरेसँग समेत जिल्ला प्रहरी कार्यालयले स्पष्टीकरण मागेको छ।
.gif)

.png)

