मलेसियामाथि नेपालको ६ विकेटको जित
१०४ रनको लक्ष्य २१.४ ओभरमै पूरा
काठमाडौं : एसीसी पुरुष प्रिमियर कपमा नेपालले मलेसियामाथि सहज जित निकाल्दै प्रतियोगितामा लगातार दोस्रो विजय हासिल गरेको छ। मलेसियाको बाङ्गीस्थित वाईएसडी यूकेएम ओभलमा बिहीबार भएको खेलमा नेपालले घरेलु टोलीलाई ६ विकेटले पराजित गरेको हो।
पहिले ब्याटिङ गरेको मलेसियालाई नेपालले १०३ रनमै अलआउट गरेको थियो। जवाफमा नेपालले १०४ रनको लक्ष्य २१.४ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा अर्जुन कुमालले नटआउट ४५ रन बनाए। उनले धैर्यपूर्ण ब्याटिङ गर्दै नेपालको जित सहज बनाए। उनलाई दीपेन्द्रसिंह ऐरीले नटआउट १२ रन बनाएर साथ दिए।
इशान पाण्डेले २० तथा रोहितकुमार पौडेलले १० रन बनाए। देव खनाल २ रनमा आउट भए भने ओपनर आसिफ शेख पहिलो बलमै आउट भए। यसअघि मलेसियालाई सस्तैमा समेट्ने क्रममा करण केसीले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए। ललितनारायण राजवंशीले दुई तथा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान एक–एक विकेट लिए। मलेसियाका लागि सैयद अजिजले ४९ तथा अकिल वाहिदले ३९ रन बनाए पनि अन्य ब्याटर चल्न नसक्दा घरेलु टोली ३२.३ ओभरमै १०३ रनमा समेटिएको थियो।
नेपालले यसअघि प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई ७ विकेटले पराजित गरेको थियो। लगातार दुई खेल जितेपछि नेपालले प्रिमियर कपमा आफ्नो बलियो सुरुआतलाई निरन्तरता दिएको छ।
.gif)

.png)

