विदेश अध्ययनमा जाने विद्यार्थी नेपालमै रोक्न सकिन्छ : आइप्यान


२०८३ असोज १३ मंगलबार १६:१० बजे

काठमाडौं : विदेश अध्ययनका लागि गत आर्थिक वर्षमा ९९ हजार ८९० विद्यार्थीले ‘नो अब्जेक्सन लेटर’ (एनओसी) लिँदा अध्ययनका नाममा १ खर्ब ९१ अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको इन्टरनेसनल एजुकेशन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइप्यान) ले जनाएको छ।

विद्यार्थी पलायन र ठूलो परिमाणमा विदेशी मुद्रा बाहिरिने क्रम बढिरहेका बेला नेपालमै वैदेशिक विश्वविद्यालयका डिग्री कार्यक्रम सञ्चालन गरिरहेका कलेजहरूले यसको विकल्प दिन सक्ने मंगलबार आईईपानले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। 

आइप्यानका अनुसार नेपालमा हाल ५८ वटा शिक्षण संस्थाले वैदेशिक विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने अनुमति पाएका छन्। ती संस्थामा करिब ३७ हजार २०८ विद्यार्थी अध्ययनरत छन्।

यी संस्थाले करिब ५ हजार प्रत्यक्ष र १५ हजार अप्रत्यक्ष रोजगारी सिर्जना गरेका छन् भने आयकर, विद्यार्थी शुल्क, रोयल्टी र मूल्य अभिवृद्धि करमार्फत वार्षिक ५० करोड रुपैयाँभन्दा बढी प्रत्यक्ष कर तथा राजस्व योगदान गर्दै आएको आइप्यानले जनाएको छ।

नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा उपलब्ध हुने वातावरण विस्तार गर्न सके विदेश जाने विद्यार्थीको संख्या र त्यससँगै बाहिरिने रकम घटाउन सकिने आइप्यानको भनाइ छ।

विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित कलेजलाई लिएर विभिन्न भ्रम र टीकाटिप्पणी भइरहेको भन्दै आइप्यानले यस्ता संस्थाको मूल्यांकन तथ्य, कानुन र अन्तर्राष्ट्रिय शैक्षिक मापदण्डका आधारमा गर्न आग्रह गरेको छ।

आइप्यानले नेपालमा सञ्चालित विदेशी सम्बन्धन प्राप्त कलेजहरू कानुनी प्रक्रियाअनुसार सञ्चालनमा रहेको र सम्बन्धित विश्वविद्यालयले निर्धारण गरेको पाठ्यक्रम, परीक्षा तथा गुणस्तर सुनिश्चितताका मापदण्ड पालना गर्ने दाबी गरेको छ। 

संगठनका अनुसार ती कार्यक्रम छोटो अवधिका तालिम नभई शैक्षिक क्रेडिट, परीक्षा तथा अन्य निर्धारित मापदण्ड पूरा गर्नुपर्ने औपचारिक डिग्री कार्यक्रम हुन्।

विद्यार्थीको मूल्यांकनमा असाइनमेन्ट, अनुसन्धान परियोजना, लर्निङ म्यानेजमेन्ट सिस्टम तथा प्लेजरिजम परीक्षणजस्ता प्रणाली प्रयोग हुने आईईपानले जनाएको छ।

विदेशी विश्वविद्यालयलाई पठाइने शुल्कसमेत बैंकिङ प्रणाली, शिक्षा मन्त्रालयको स्वीकृति तथा नेपाल राष्ट्र बैंकको स्वीकृत प्रक्रियामार्फत पठाइने भएकाले हुन्डी वा अवैध पूँजी पलायनसँग जोडेर आधारहीन आरोप नलगाउन संगठनले आग्रह गरेको छ।

आइप्यानले सूचना प्रविधि, व्यवस्थापन, हस्पिटालिटी तथा फेसन डिजाइनिङलगायतका विषय नेपालमै उपलब्ध गराएर विद्यार्थीलाई स्वदेशमै अन्तर्राष्ट्रियस्तरको शिक्षा लिन सक्ने वातावरण बनाइरहेको दाबी गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७