असफल ओलीलाई नै प्रधानमन्त्रीको उम्मेदवार बनाउनु चुनावका लागि घातक : एमाले कार्यदल
‘विद्रोहलाई सामना गर्न असफल पार्टी अध्यक्षलाई नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कुरा चुनावका लागि घातक’
काठमाडौं : नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले भदौ २३ र २४ गतेको विद्रोह सामना गर्न तत्कालीन सरकार असफल भएको र त्यसपछि पनि तत्कालीन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने निर्णय निर्वाचनका लागि घातक साबित भएको निष्कर्ष निकालेको छ।
एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले सातै प्रदेशका नेता तथा कार्यकर्तासँग छलफल गरी तयार पारेको प्रतिवेदनमा निर्वाचनमा पार्टीले व्यहोरेको पराजयका विभिन्न कारण औंल्याइएको छ। कार्यदलका सदस्य सचिव एवं एमाले महासचिव शंकर पोखरेललाई प्रतिवेदन लेखनको जिम्मेवारी दिइएको थियो।
पोखरेलले तयार पारेको ६५ पृष्ठको प्रतिवेदनमा भनिएको छ, ‘भदौ २३ र २४ को विद्रोहलाई सामना गर्न असफल राज्यको कार्यकारी प्रधानमन्त्रीको भूमिकामा रहनुभएका पार्टी अध्यक्षलाई नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कुरा चुनावी रणनीतिका लागि घातक साबित भयो। त्यसबाट सिंगो चुनाव भदौ २३ र २४ को घटना र ‘को प्रधानमन्त्री हुने ?’ भन्ने विषयमा केन्द्रित बन्न पुग्यो। निर्वाचनको प्रतिकूल परिणाममा यी दुई कुराले निकै ठूलो असर पारेको देखिन्छ।’
प्रतिवेदनअनुसार भदौ २३ र २४ गतेको घटनामा नेपाली युवा तथा सर्वसाधारणको उल्लेख्य समर्थन र सहभागिता रहेको थियो। उक्त घटनालाई षड्यन्त्रका रूपमा स्थापित गर्न नसक्दा आन्दोलन एमाले नेतृत्वको सरकारविरुद्धको विद्रोहका रूपमा स्थापित हुन पुगेको प्रतिवेदनमा उल्लेख छ।
यस्तो अवस्थामा सम्पन्न निर्वाचन एमालेको पक्षमा नआउने अवस्था रहे पनि निर्वाचनपूर्व पार्टीको विश्लेषण त्यस्तो हुन नसकेको प्रतिवेदनले औंल्याएको छ। केही मत घटे पनि निर्वाचनमा गएपछि पुरानो स्थिति कायम गर्न सकिने विश्वास पार्टीभित्र रहेको र प्रतिकूल परिस्थितिमा समेत निर्वाचनलाई आफ्नो पक्षमा ल्याउन पार्टीपंक्तिले प्रयास गरेको उल्लेख गरिएको छ।
तर भदौ २३ र २४ को विद्रोह सामना गर्न असफल राज्यको कार्यकारी प्रधानमन्त्रीको भूमिकामा रहेका पार्टी अध्यक्ष ओलीलाई नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नु चुनावी रणनीतिका लागि ‘घातक’ साबित भएको प्रतिवेदनको निष्कर्ष छ।
ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिएपछि निर्वाचनको सम्पूर्ण बहस पार्टीका नीति, कार्यक्रम र भावी योजनाभन्दा पनि ‘भदौ २३ र २४ को घटना’ र ‘को प्रधानमन्त्री हुने?’ भन्ने विषयमा केन्द्रित हुन पुगेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनले निर्वाचनको प्रतिकूल परिणाममा यी दुई विषयले निकै ठूलो प्रभाव पारेको निष्कर्ष निकालेको छ।
प्रतिवेदनले बाह्य प्रभाव र दुष्प्रचारलाई निर्वाचन परिणामका कारणका रूपमा उल्लेख गरेको छ, एमालेको आफ्नै कमजोरीलाई भने बेवास्ता गर्न नहुने निष्कर्ष निकालेको छ। प्रतिवेदनमा पार्टी र आन्दोलनका लागि प्रतिकूलता सिर्जना हुनुमा आफ्नै कमजोरीहरू पनि प्रमुख कारण बनेको उल्लेख गर्दै आगामी दिनमा संगठनात्मक संरचना र नेतृत्वमा सुधार आवश्यक रहेको औंल्याइएको छ।
सातै प्रदेशका नेता तथा कार्यकर्तासँगको छलफलबाट प्राप्त सुझावलाई आधार बनाएर तयार गरिएको प्रतिवेदनले एमालेको पराजयको समीक्षा गर्दै पार्टीलाई पुनर्गठन गर्नुपर्ने आवश्यकता औंल्याएको हो। यससँगै निर्वाचनमा भएको पराजयलाई केवल बाह्य शक्तिको प्रभाव वा भदौ २३ र २४ को विद्रोहको परिणामका रूपमा मात्र नभई नेतृत्वको रणनीतिक निर्णय, संगठनात्मक कमजोरी र पार्टी सञ्चालनको शैलीसँग समेत जोडेर समीक्षा गर्नुपर्ने निष्कर्ष प्रतिवेदनले निकालेको छ।
.gif)

.png)

