बागमतीमा एमाले, नेकपा र राप्रपाबीच सहमति, भागबन्डादेखि सरकार सञ्चालन संयन्त्रसम्म
काठमाडौं : बागमती प्रदेशमा सत्तारूढ नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच सरकार सञ्चालनका लागि ६ बुँदे सहमति भएको छ। मुख्यमन्त्री किरण थापामगरसहित तीन दलका संसदीय दलका नेताबीच मंगलबार भएको सहमतिमा समृद्ध बागमती प्रदेश निर्माणका लागि साझा प्रतिबद्धता व्यक्त गर्ने उल्लेख छ।
सहमतिअनुसार प्रदेशमा ८ वटा भन्दा बढी मन्त्रालय नबनाउने र मन्त्रालयको भागबन्डा गर्ने निर्णय भएको छ। त्यस्तै, सभामुख नेकपाबाट निर्वाचित गर्ने सहमति भएको छ। सरकार सञ्चालनका लागि ७ दिनभित्र न्यूनतम साझा कार्यक्रम तयार गरिने भएको छ। त्यसका लागि तीनै दलको प्रतिनिधित्व रहने गरी ७ सदस्यीय समिति गठन गरिएको छ।
यस्तै, सरकार सञ्चालनका लागि संयन्त्र गठन गर्ने र सुरुमा त्यसको नेतृत्व नेकपाले गर्ने सहमति भएको छ। मन्त्रिपरिषद्लाई महिला सहभागितासहित समावेशी बनाउने तथा मर्यादाक्रममा मुख्यमन्त्रीपछि नेकपा र त्यसपछि राप्रपा रहने व्यवस्था गरिएको छ। सहमति पत्रमा मुख्यमन्त्री थापामगर, नेकपा संसदीय दलका नेता शालिकराम जम्कट्टेल, एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्धव थापाले हस्ताक्षर गरेका छन्।
यसअघि राप्रपाभित्रै विवादका बीच बागमतीमा नयाँ सरकार गठन भएको थियो। पार्टीले संसदीय दलका नेता उद्धव थापासहित चार सांसदलाई कारबाहीसमेत गरेको थियो।
.gif)

.png)

