रास्वपा सभापति लामिछानेले बोलाएको बैठकमा गगन थापा, प्रचण्ड र शंकर पोखरेल सहभागी


२०८३ श्रावण १३ बुधबार ०८:३७ बजे

काठमाडौं :  सुनसरीको देवानगञ्ज घटनालगायत समसामयिक राष्ट्रिय विषयमा साझा धारणा बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा जारी बैठकमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका नेता गगनकुमार थापा, नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत शीर्ष नेताहरू सहभागी भएका छन्।

बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका साथै उपेन्द्र यादव र महन्थ ठाकुर नेतृत्वका दलका प्रतिनिधिलाई पनि आमन्त्रण गरिएको छ।

रास्वपा सभापति रवि लामिछानेले सुनसरी घटनापछि उत्पन्न परिस्थितिबारे राजनीतिक तहमा साझा धारणा निर्माण गर्न तथा सामाजिक सद्भाव कायम राख्ने विषयमा छलफल गर्न बैठक बोलाएका हुन्।

रास्वपाका महामन्त्री विपिन आचार्यका अनुसार सुनसरीको संवेदनशील घटनापछि सामाजिक रूपमा फैलन सक्ने द्वेष र तनाव न्यूनीकरण गर्दै शान्ति–सुरक्षा तथा सद्भाव कायम राख्न प्रशासनिक प्रयाससँगै राजनीतिक दलहरूबाट पनि साझा सन्देश दिन आवश्यक ठानिएकाले सर्वदलीय बैठक आयोजना गरिएको हो।

उनले सामाजिक सद्भाव, शान्ति र राष्ट्रिय एकतालाई प्राथमिकतामा राख्दै सबै राजनीतिक दललाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७