बादल र शंकर पोखरेललाई एमाले पुनर्गठन प्रतिवेदनको लेखनको जिम्मा
काठमाडौं । नेकपा(एमाले) को पार्टी पुनर्गठन कार्यदलले देशभरबाट संकलित सुझाव समेटेर प्रतिवेदन तयार पार्ने जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेललाई दिएको छ।
बिहीबार बसेको कार्यदल बैठकले सुझावहरूको अध्ययन गरी प्रतिवेदनको मस्यौदा तयार गरेर कार्यदलमा पेश गर्ने जिम्मेवारी संयोजक बादल र महासचिव पोखरेललाई दिएको हो।
बैठकमा महासचिव पोखरेलले देशका १३ स्थानमा सञ्चालन गरिएको सुझाव संकलन अभियानबाट प्राप्त प्रतिवेदनबारे जानकारी गराएका थिए। उनका अनुसार अभियान सम्पन्न भइसकेको छ र प्राप्त सुझावहरूलाई समेटेर प्रतिवेदन तयार गरिनेछ।
एमाले सचिव शेरधन राईका अनुसार कार्यदलले तयार पार्ने प्रतिवेदन सचिवालय हुँदै केन्द्रीय कमिटीमा पेश गरिनेछ।
बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा थप एकताबद्ध बनाउँदै शुद्धीकरण, सुदृढीकरण र रूपान्तरणको कार्ययोजना तयार गर्न निर्देशन दिएका थिए।
कार्यदलले सुझाव संकलन अभियानमा योगदान पुर्याउने समिति तथा सहभागी सबैप्रति धन्यवाद व्यक्त गरेको छ।
यसैबीच, बैठकले पार्टीका उपाध्यक्ष तथा कार्यदल सदस्य विष्णु पौडेललाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको दाबी गर्दै उक्त घटनाको निन्दा र भर्त्सना गरेको छ।
.gif)

.png)

