एमाले कार्यदलको निष्कर्ष : नेतृत्वमा आत्मप्रशंसाको भोक, कार्यकर्ता चाकडीमा

‘नेतृत्वका कमजोरी सुनिँदैन, चाकडी मात्रै सुनिन्छ’


२०८३ भदौ ९ मंगलबार १९:१८ बजे

काठमाडौं :  नेकपा (एमाले) को निर्वाचन समीक्षा एवं पुनर्गठन सुझाव संकलन कार्यदलले पार्टी नेतृत्वमा बढेको आत्मप्रशंसाको प्रवृत्तिले कार्यकर्तामा चाकडी गर्ने र नेतृत्वको भनाइमा होमा हो मिलाउने संस्कार विकास भएको निष्कर्ष निकालेको छ।

उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ संयोजक तथा महासचिव शंकर पोखरेल सदस्य रहेको कार्यदलले तयार पारेको ६५ पृष्ठ लामो प्रतिवेदनमा नेतृत्वको कार्यशैली र पार्टीभित्र मौलाएका गलत प्रवृत्तिलाई चुनावी पराजयका प्रमुख कारणका रूपमा औँल्याइएको हो।

प्रतिवेदनमा नेतृत्वमा ‘म नभए पार्टी कसरी चल्छ ?’ भन्ने मानसिकता स्थापित भएको उल्लेख गर्दै सामूहिक नेतृत्व प्रणाली कमजोर बनेर अधिकार मुख्य नेतृत्वमा केन्द्रीकृत हुँदा कार्यकर्तामा निराशा पैदा भएको बताइएको छ।

कार्यदलले नेतृत्वमा आत्मप्रशंसाको भोक बढेको र नेतृत्वका कमजोरीबारे चर्चा सुन्न नचाहने प्रवृत्ति विकास भएको उल्लेख गरेको छ। यही प्रवृत्तिका कारण कार्यकर्तामा नेतृत्वको प्रशंसा गर्ने, चाकडी गर्ने र हरेक निर्णयमा होमा हो मिलाउने संस्कार बढेको प्रतिवेदनमा उल्लेख छ।

नेतृत्वलाई स्थापित गर्ने नाममा पार्टीभित्र ‘गणेशप्रवृत्ति’ मौलाएको र नेतृत्वले जे गर्दा पनि हुन्छ भन्ने स्वेच्छाचारी प्रवृत्ति बढेको कार्यदलको ठहर छ। ‘यसबाट नेतृत्वले जे गर्दा पनि हुन्छ भन्ने स्वेच्छाचारी प्रवृत्ति बढेको छ, नेतृत्वलाई स्थापित गर्ने नाममा गणेशप्रवृत्ति मौलाएको अधिकांश कार्यकर्ताको बुझाइ रहेको देखिन्छ’, प्रतिवेदनमा भनिएको छ, ‘नेतृत्वमा कमिकमजोरीको चर्चा सुन्न नचाहने र आत्मप्रशंसा मन पराउने प्रवृत्ति बढेको छ, नेतृत्वमा बढेको आत्मप्रशंसाको भोकले पार्टी कार्यकर्तामा चाकडी गर्ने र हो-मा-हो मिलाउने प्रवृत्ति बढेको छ ।’

कार्यदलले नेतृत्वको सहज हस्तान्तरण नहुँदा पार्टी नेतृत्वप्रति असन्तुष्टि बढ्न सक्ने भन्दै यस्ता आन्तरिक समस्यालाई भूराजनीतिक षड्यन्त्रसँग मात्र जोडेर हेर्न नहुने सुझाव दिएको छ। प्रतिवेदनमा पार्टी नेतृत्वको भाषाशैलीमा समेत सुधार आवश्यक रहेको उल्लेख छ। जनतालाई हेप्ने वा उडाउने खालका अभिव्यक्ति बन्द गरी विनम्र तथा सरल भाषाशैली अपनाउनुपर्ने र नवयुवा पुस्ताले बुझ्ने किसिमको भाषा प्रयोग गर्नुपर्ने सुझाव दिइएको छ।

एमालेको चुनावी पराजयबारे तयार पारिएको प्रतिवेदनमा वैचारिक स्तरमा आएको ह्रास, जबज कार्यान्वयनमा समस्या, घोषणापत्र कार्यान्वयनमा असामञ्जस्यता, सत्ताकेन्द्रित अवसरवाद, विधान तथा विधिको उल्लंघन, स्वायत्तताको अभाव तथा नेतामुखी र पदमुखी प्रवृत्तिलगायत दर्जनौँ कारण पार्टी कमजोर बनेको समीक्षा गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७