धितोपत्र तथा बीमा ऐन उल्लंघनको आरोपमा बैंक तथा बीमा कम्पनीका ४ जना पक्राउ
काठमाडौं : धितोपत्र तथा बीमा सम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा फरार रहेका ४ जनालाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले पक्राउ गरेको छ। नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा अनुसन्धानका क्रममा उनीहरूलाई मंगलबार पक्राउ गरी काठमाडौं जिल्ला अदालत, बबरमहलमा पेश गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडका लगानी सदस्य ४२ वर्षीय सुभाष पौडेल रहेका छन्। उनी धितोपत्र सम्बन्धी ऐन, २०६३ र बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा फरार रहेको प्रहरीले जनाएको छ। त्यस्तै, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडकी सञ्चालक सदस्य ४१ वर्षीया सुनिता महर्जन धितोपत्र सम्बन्धी ऐन अन्तर्गतको कसुरमा पक्राउ परेकी छन्।
नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडका सञ्चालक सदस्य ४५ वर्षीय अनुप मालाकार र सोही कम्पनीकी ३९ वर्षीया सञ्चालक सदस्य सुनिता श्रेष्ठलाई बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा फरार रहेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका चारै जनालाई आवश्यक कानुनी कारबाहीका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
.gif)

.png)

