रुपन्देहीमा तीन वर्षमा डुबेर १११ जनाको मृत्यु, बालबालिका सबैभन्दा बढी जोखिममा
डुबेर ज्यान गुमाउनेमा ५८ बालबालिका मात्रै
रुपन्देही : पछिल्लो तीन वर्षमा रुपन्देहीमा पानीमा डुबेर १११ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार आर्थिक वर्ष २०८०/०८१ देखि २०८२/०८३ सम्म खोला, नदी, पोखरी, सिँचाइ कुलो, सेप्टी ट्याङ्की, निर्माणका खाडल तथा स्विमिङ पुलमा डुबेर उक्त मानवीय क्षति भएको हो।
प्रहरीका अनुसार डुबेर मृत्यु हुनेमध्ये ५८ जना १८ वर्षमुनिका बालबालिका छन्। १९ देखि ४० वर्ष उमेर समूहका ३० जना र ४१ वर्षभन्दा माथिका २३ जनाको मृत्यु भएको छ। घर वरपरका खुला पोखरी, कुलो, निर्माणका खाडल तथा सेप्टी ट्याङ्कीमा खेल्ने क्रममा बालबालिका डुब्ने गरेका छन्। किशोरकिशोरी भने खोला तथा पोखरीमा पौडी खेल्ने र माछा मार्ने क्रममा डुब्ने गरेका छन्।
तिनाउ, दानव, रोहिणी, त्रिशूली र अर्दौला लगायतका खोला पौडी खेल्दा बढी जोखिमपूर्ण देखिएका छन्। तीन वर्षमा तिनाउ नदीमा मात्रै १५ जनाको डुबेर मृत्यु भएको छ। दानवमा आठ तथा रोहिणी र त्रिशूली खोलामा सात–सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार अभिभावकको निगरानी नहुँदा तीन वर्षमुनिका १० बालबालिकाको समेत डुबेर मृत्यु भएको छ।
खुला सेप्टी ट्याङ्की, निर्माणाधीन संरचनाका खाडल, पोखरी, कुलो तथा घरमा खुला रूपमा राखिएको पानीमा समेत बालबालिका डुब्ने गरेका छन्। पानीमा डुबेर हुने मानवीय क्षति न्यूनीकरणका लागि जोखिमयुक्त स्थानमा सूचनामूलक बोर्ड राख्नुका साथै स्थानीयस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने प्रहरीले जनाएको छ। घरवरपरका पानी जम्ने खाडल पुर्ने र पानी भरिएका भाँडाकुँडा ढाकेर राखेमा बालबालिकालाई डुब्नबाट जोगाउन सकिने डीएसपी चन्दले बताए।
.gif)

.png)

