भोटेकोसी बाढीपीडित बालबालिकाका लागि शेष घले दम्पतीको ५७ करोड ८५ लाख सहयोग
काठमाडौं : नेपाली संघका पूर्वअध्यक्ष तथा व्यवसायी डा. शेष घले र उनकी पत्नी जमुना गुरुङको एमआईटी ग्रुप फाउन्डेसनले भोटेकोसी बाढीबाट प्रभावित तथा अभिभावकविहीन बनेका बालबालिकाका लागि ५७ करोड ८५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
बाढीबाट प्रभावित १८ वर्षमुनिका योग्य बालबालिकालाई कक्षा १२ सम्म अध्ययन गराउन फाउन्डेसनले राष्ट्रिय बाल अधिकार परिषद्सँग समझदारी गरेको हो।
समझदारीअनुसार बाढीबाट प्रभावित बालबालिकाको परिस्थितिअनुसार उनीहरूको शिक्षा, खाना, आवास, लत्ताकपडा, स्वास्थ्य सेवा तथा अन्य अत्यावश्यक आवश्यकता पूरा गर्न सहयोग गरिनेछ।
शेष घलेले सामाजिक सञ्जालमार्फत भोटेकोसीको पानी घट्दैमा बाढीले सिर्जना गरेको समस्या अन्त्य नहुने बताएका छन्। बाढीका कारण बेसहारा बनेका बालबालिका र उनीहरूका परिवारले भोगेको पीडा र परिस्थितिबाट आफू र पत्नी जमुना गुरुङ गहिरो रूपमा प्रभावित भएको उनले उल्लेख गरेका छन्।
घलेका अनुसार फाउन्डेसनको सहयोग तत्कालको राहतमा मात्र सीमित हुने छैन। आगामी वर्षहरूमा पनि बालबालिकालाई निरन्तर सहयोग गर्दै उनीहरूको पढाइलाई निरन्तरता दिन, आधारभूत आवश्यकता पूरा गर्न र भविष्यप्रति आशावादी बन्न सहयोग पुर्याउने लक्ष्य राखिएको छ।
‘उनीहरूलाई यो कठिन समयमा मात्र नभई आगामी वर्षहरूमा पनि सहयोग गर्न पाउनुलाई हामी सौभाग्य ठान्छौँ,’ घलेले भनेका छन्, ‘यस सहयोगले उनीहरूलाई अध्ययनमा निरन्तरता दिन, आधारभूत आवश्यकता पूरा गर्न र भविष्यप्रति आशावादी बनाउन मद्दत पुर्याउनेछ।’
.gif)

.png)

