भोटेकोशी बाढी प्रभावित २८ प्रहरीका सन्तानलाई निःशुल्क शिक्षा दिइने


२०८३ असोज १४ बुधबार ०९:०३ बजे

काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका क्रममा कर्तव्यमा खटिएका नेपाल प्रहरीका प्रभावित कर्मचारी तथा उनीहरूका परिवारलाई निःशुल्क शिक्षा दिइने भएको छ। 

प्रभावित परिवारलाई लक्षित गर्दै नेपाल प्रहरीले विशेष राहत तथा कल्याणकारी कार्यक्रम अघि सारेको छ। नेपाल प्रहरी नीति निर्माण समितिको उच्चस्तरीय बैठकले बाढीबाट प्रत्यक्ष प्रभावित २८ जना प्रहरी कर्मचारीका सन्ततिलाई प्राथमिक तहदेखि स्नातकोत्तर तहसम्मको शिक्षा पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो।

गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको बाढीका क्रममा प्रहरी कर्मचारीहरू प्रभावित भएका थिए। 

जोखिमपूर्ण अवस्थामा समेत कर्तव्यमा खटिएका प्रहरी कर्मचारी तथा उनीहरूको परिवारलाई राहत र दीर्घकालीन सहयोग उपलब्ध गराउने उद्देश्यले निर्णय गरिएको नेपाल प्रहरीले जनाएको छ।

बैठकले प्रभावित प्रहरी परिवारका अन्य सदस्यको जीविकोपार्जन तथा दीर्घकालीन पुनःस्थापनालाई समेत प्राथमिकतामा राखेको छ। 

त्यसका लागि परिवारका सदस्यलाई आवश्यकताअनुसार सीपमूलक तथा व्यावसायिक तालिम उपलब्ध गराई रोजगारीको उचित व्यवस्था मिलाउने निर्णय गरिएको छ।

नेपाल प्रहरीले विपद्का बेला राष्ट्र र जनताको सुरक्षामा खटिएका कर्मचारीको त्याग तथा समर्पणलाई ध्यानमा राख्दै प्रभावित परिवारको शिक्षा, रोजगारी र पुनःस्थापनामा सहयोग पुग्ने गरी निर्णय गरिएको जनाएको छ।

प्रहरीको यो निर्णयले बाढीबाट प्रभावित कर्मचारीका परिवारलाई तत्काल राहतसँगै दीर्घकालीन रूपमा शिक्षा र रोजगारीको आधार तयार गर्ने लक्ष्य राखेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७