कोशी र बागमतीका हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना


२०८३ असोज १४ बुधबार ०७:२२ बजे
फाइल फोटो

काठमाडौं : मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेसँगै देशभरको मौसममा क्रमिक परिवर्तन देखिन थालेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। पश्चिमी वायुको प्रभावसँगै देशका विभिन्न क्षेत्रमा तापक्रम क्रमशः घट्न थालेको महाशाखाले जनाएको छ। 

मौसममा आएको परिवर्तनका कारण विशेषगरी हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना देखिएको छ। आज देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ।

कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक–दुई स्थानमा पनि हल्का वर्षा र हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ।

आज राति कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा भने आंशिक बदली रहने महाशाखाले जनाएको छ।

तराईका अधिकांश भू-भागमा राति मौसम मुख्यतया सफा रहनेछ भने कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ।

मौसममा आएको परिवर्तनसँगै विशेषगरी बिहान र रातिको समयमा चिसोपन बढ्न थालेको छ। महाशाखाले आगामी दिनमा मौसमको अवस्थाबारे नियमित अद्यावधिक हेर्न आग्रह गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७