सरकारी अस्पतालमा जन्मिने शिशुलाई २२ क्यारेटको सुनको औँठी


२०८३ असोज १४ बुधबार ०८:४१ बजे

तमिलनाडु : भारतको तमिलनाडु सरकारले सरकारी अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रमा जन्मिने नवजात शिशुलाई सुनको औंठी उपहार दिने योजना सुरु गरेको छ।

‘थाई मामन थंगा मोतिरम’ नाम दिइएको योजनाअन्तर्गत सरकारी स्वास्थ्य संस्थामा जन्मिने प्रत्येक शिशुलाई २२ क्यारेट सुनको एक ग्राम तौलको औंठी प्रदान गरिनेछ।

तमिलनाडुका मुख्यमन्त्री सी. जोसेफ विजयले सोमबार मदुरैस्थित सरकारी राजाजी अस्पतालमा आयोजित कार्यक्रममा योजनाको सुरुवात गरेका हुन्। कार्यक्रममा उनले केही नवजात शिशुलाई आफ्नै हातले सुनको औंठी लगाइदिएका थिए।

மாண்புமிகு தமிழ்நாடு முதலமைச்சர் திரு.ச.ஜோசப் விஜய் அவர்கள் இன்று (28.9.2026), அரசு மருத்துவமனைகளில் பிறக்கும் குழந்தைகளைச் சிறப்பிக்கும் வகையிலும், தமிழர் பண்பாடு மற்றும் கலாச்சாரத்தில் தாய்மாமன் ஏற்றுள்ள அன்பும், அக்கறை நிறைந்த பாசமும் பிரதிபலிக்கும் வகையிலும், “தாய்மாமன் தங்க… pic.twitter.com/RiXstOx41y

— CMOTamilNadu (@CMOTamilnadu) September 28, 2026

तमिल भाषामा ‘थाई मामन थंगा मोतिरम’को अर्थ ‘मामाको सुनको औंठी’ हुन्छ। तमिल समाजमा आमाका दाइ वा भाइलाई ‘मामा’ भनिन्छ र नवजात शिशुको जन्मलगायत पारिवारिक अवसरमा मामाको सम्बन्धलाई विशेष महत्व दिने परम्परा रहेको बताइएको छ।

तमिलनाडुका स्वास्थ्य मन्त्री अरुण राजका अनुसार बच्चा जन्मिएपछि सबैभन्दा पहिले पुग्ने आफन्तमध्ये मामा पनि एक हुन्छन्। 

परिवारको खुसीमा सहभागी हुँदै साथ दिने यही परम्परालाई सरकारी योजनामार्फत सम्मान गर्न खोजिएको उनको भनाइ छ।

योजनाको प्रमुख उद्देश्य सरकारी स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति गराउने प्रवृत्तिलाई प्रोत्साहन गर्नु र नागरिकको सरकारी स्वास्थ्य सेवाप्रतिको विश्वास बढाउनु रहेको तमिलनाडु सरकारले जनाएको छ।

सरकारका अनुसार सरकारी स्वास्थ्य संस्थामा प्रसूति गराउन महिलालाई प्रोत्साहित गर्दा आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षामा सकारात्मक प्रभाव पर्न सक्छ। 

साथै, नवजात तथा बालबालिकाको कल्याणप्रति सरकारको प्रतिबद्धता पनि योजनाले देखाउने सरकारको भनाइ छ।

सरकारी अस्पतालमा बच्चा जन्माउने परिवारलाई प्रत्यक्ष रूपमा सुनको औंठी उपहार दिँदा स्वास्थ्य संस्थासँग नागरिकको भावनात्मक सम्बन्ध बलियो हुने अपेक्षा पनि गरिएको छ।

योजनाको विपक्षी भारतीय जनता पार्टी (भाजपा) ले पनि स्वागत गरेको छ। तर भाजपा नेतृ तमिलिसाई सौन्दर्यराजनले सुनको औंठी वितरणसँगै परिवारलाई आवश्यक पोषण र सरकारी अस्पतालको गुणस्तर सुधारलाई पनि प्राथमिकता दिनुपर्ने बताएकी छन्।

उनका अनुसार नवजात शिशुलाई सुनको औंठी दिनु स्वागतयोग्य भए पनि परिवारका लागि तत्काल आवश्यक पर्ने पोषणको सुनिश्चितता महत्वपूर्ण विषय हो। सरकारी अस्पतालमा पर्याप्त स्वास्थ्य पूर्वाधार, चिकित्सक तथा अन्य आवश्यक सुविधा उपलब्ध गराउन पनि पर्याप्त बजेट छुट्याउनुपर्ने उनको भनाइ छ।

भारतमा आर्थिक रूपमा सक्षम वर्गले उपचारका लागि निजी अस्पताल रोज्ने प्रवृत्ति रहेको देखिन्छ। सरकारी अस्पतालमा हुने अत्यधिक भीड, सीमित शय्या, चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव, उपचारका लागि लामो समय कुर्नुपर्ने अवस्था र पूर्वाधारसम्बन्धी समस्या यसका कारणका रूपमा उल्लेख हुने गरेका छन्।

नवजात शिशुको उपचारका क्रममा सरकारी अस्पतालमा भएका दुर्घटनाका घटनासमेत बेलाबेला सार्वजनिक हुने गरेका छन्। 

केही समयअघि तेलंगानाको एक सरकारी अस्पतालको नवजात शिशु उपचार कक्षमा आगलागी हुँदा दुई शिशुको मृत्यु भएको घटना सार्वजनिक भएको थियो।

यस्ता घटनाले सरकारी स्वास्थ्य संस्थाको सेवा र सुरक्षासम्बन्धी प्रश्न उठाउने गरेको छ। यही पृष्ठभूमिमा तमिलनाडु सरकारले सरकारी अस्पतालमा प्रसूति गराउने परिवारलाई आकर्षित तथा प्रोत्साहित गर्ने उद्देश्यले सुनको औंठी वितरण योजना अघि सारेको हो।

सरकारले भने योजनाले सरकारी स्वास्थ्य संस्थामा प्रसूति गराउने दर बढाउन तथा नागरिकको विश्वास बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७