कोशीमा ओली र शंकरको शक्ति संघर्ष

ओलीको निर्देशन भन्दै मुख्यमन्त्री हिक्मत कार्की हटाउन शेरधन राईको असाधारण सक्रियता


२०८३ श्रावण १८ सोमबार ०९:३६ बजे

काठमाडौं :  कोशी प्रदेश सरकार पुनर्गठनको चर्चा चुलिएसँगै नेकपा (एमाले)भित्र मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने विषयले आन्तरिक शक्ति संघर्षको रूप लिएको छ। पार्टीको कोशी प्रदेश इन्चार्ज शेरधन राईले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशन र केन्द्रको नीतिअनुसार नेतृत्व परिवर्तन गर्नुपर्ने भन्दै मुख्यमन्त्री कार्कीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न दबाब बढाएका छन्।

यता एमाले सचिवसमेत रहेका मुख्यमन्त्री कार्की भने तत्काल राजीनामा दिने पक्षमा देखिएका छैनन्। एमाले नेतृत्वकै सरकारलाई बीचमै परिवर्तन गर्दा जनमानसमा नकारात्मक सन्देश जाने उनको तर्क छ। उनले पार्टीको औपचारिक र संस्थागत निर्णयबिना आफूले पद नछाड्ने अडान राख्दै आएका छन्।

स्रोतका अनुसार कार्कीले नेतृत्व परिवर्तन आवश्यक ठानिए पार्टीको विधि र प्रक्रियाबाट निर्णय गर्नुपर्ने सन्देश दिएका छन्। 'हटाउनुपर्छ भने पार्टीको विधि र प्रक्रियाबाट हटाउनुस्' भन्ने उनको धारणा रहेको स्रोतको भनाइ छ।

स्रोतका अनुसार बेलायत भ्रमणबाट फर्किएपछि कोशी जानुअघि प्रदेश इन्चार्ज शेरधन राईलाई अध्यक्ष ओलीले भेटेर आवश्यक निर्देशन दिएका थिए। ओलीको निर्देशनपछि राई मुख्यमन्त्री परिवर्तनको पहलमा सक्रिय बनेका हुन्।

तर कोशी प्रदेश सरकार गठनको संवैधानिक आधार भने नेतृत्व परिवर्तनका लागि चुनौतीपूर्ण देखिएको छ। संविधानको धारा १६८(५) अन्तर्गत गठन भएको सरकारमा दलको ह्विप प्रभावकारी नहुने भएकाले मुख्यमन्त्रीले स्वेच्छाले राजीनामा नदिएसम्म नयाँ सरकार गठन प्रक्रिया जटिल हुने संवैधानिक जानकारहरूको भनाइ छ।

मुख्यमन्त्री कार्की कुनै समय अध्यक्ष ओलीका विश्वासपात्र मानिन्थे। तर पछिल्लो समय दुई नेताबीच दूरी बढेको एमाले स्रोतको दाबी छ। स्रोतका अनुसार ओली कार्की नेतृत्वको प्रदेश सरकारसँग असन्तुष्ट छन्। कार्की सरकारले ल्याएको बजेट असफल बनाउने प्रयाससमेत भएको दाबी गरिए पनि त्यो सफल हुन नसकेको स्रोतको भनाइ छ।

अध्यक्ष ओलीले कार्कीलाई हटाएर एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने तयारी गरेको दाबी पनि स्रोतले गरेको छ।

यता, पछिल्लो समय मुख्यमन्त्री कार्की एमाले महासचिव शंकर पोखरेलसँग निकट देखिएका छन्। पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको पक्षमा उभिएका कार्कीलाई महासचिव पोखरेल र उपाध्यक्ष विष्णु पौडेलसहितका प्रभावशाली नेताहरूको समर्थन रहेको एमाले वृत्तमा चर्चा छ।

यसरी कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तनको विषय केवल प्रदेश सरकारको पुनर्गठनमा सीमित नभई एमालेभित्रको आगामी शक्ति सन्तुलनसँग समेत जोडिएको देखिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७