हमला रोक्ने ट्रम्पको घोषणा, तेहरान भन्छ, ‘झुट’
प्यु रिसर्च सेन्टरका अनुसार करिब ६० प्रतिशत अमेरिकी नागरिकले इरानसँगको युद्धको विरोधमा
लण्डन :अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै सम्झौता भए इरानमाथि प्रस्तावित सैन्य आक्रमण रोकिएको बताएका छन्। उनले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत इरान र मध्यपूर्वका अन्य देशहरूले आक्रमण नगर्न आग्रह गरेको र सम्झौताको रूपरेखा तयार भएको दाबी गरेका छन्।
ट्रम्पको भनाइ त्यतिबेला आएको हो, जब अमेरिका र इजरायलले इरानका ऊर्जा संरचनामाथि अहिलेसम्मकै कडा हवाई आक्रमणको तयारी गरिरहेको समाचार सार्वजनिक भएका थिए।
तर इरानको अर्धसरकारी समाचार संस्था ‘मेहर’ले ट्रम्पको दाबी अस्वीकार गर्दै तेहरानले कुनै पनि सैन्य कारबाही रोक्न अमेरिकासँग आग्रह नगरेको बताएको छ। इरानले ट्रम्पको भनाइलाई 'नयाँ झुटबाहेक केही होइन' भनेको छ।
इरानका कार्यवाहक रक्षामन्त्री माजिद इब्न अल–रेजाले शत्रु राष्ट्रबाट आउने प्रत्येक धम्कीलाई वास्तविक र गम्भीर रूपमा लिइएको बताएका छन्। उनले मनोवैज्ञानिक युद्धको हिस्सा भए पनि इरान सतर्क रहने र निष्क्रिय नबस्ने चेतावनी दिए।
यसअघि अमेरिकी सञ्चारमाध्यमहरूले अमेरिका र इजरायलले इरानको ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै ठूलो स्तरको बमबारी अभियानको योजना बनाइरहेको समाचार दिएका थिए। अमेरिकी राष्ट्रपति ट्रम्पको मन्त्रिपरिषद् बैठकमा समेत यसबारे छलफल भएको स्रोतलाई उद्धृत गर्दै सीबीएस न्युजले जनाएको थियो।
शनिबार ट्रम्पले अमेरिका 'दोस्रो विश्वयुद्धपछि नदेखिएको सैन्य शक्ति र तयारीसहित इरानविरुद्ध अघि बढ्न तयार रहेको' बताएका थिए। तर उनले आक्रमण रोक्नु 'विश्वको भविष्य र समृद्ध इरानको अस्तित्वका लागि हितकर' हुने दाबी गरे।
यसअघि अप्रिल ७ मा ट्रम्पले इरानले शान्ति वार्तामा नआए 'एउटा सभ्यता नै समाप्त हुने' चेतावनी दिएका थिए। उनले नागरिक पूर्वाधार र ऊर्जा संयन्त्रमाथि आक्रमण गर्ने धम्की दिएका थिए, जसलाई केही विज्ञहरूले अन्तर्राष्ट्रिय कानुनविपरीत हुनसक्ने बताएका थिए। त्यसपछि पाकिस्तानमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा इरानसँग प्रत्यक्ष वार्ता भएको थियो। तर ती वार्ता कुनै ठोस सहमतिमा पुग्न सकेनन्।
सीबीएस न्युजका अनुसार शुक्रबारको बैठकमा ट्रम्पले पत्रकारहरू उपस्थित हुँदै गर्दा भनेका थिए, 'हामी उनीहरू (इरानी)माथि निकै कडा प्रहार गर्नेछौँ। कुनै बिन्दुमा उनीहरूले ‘अब हामी सहन सक्दैनौँ’ भन्नेछन्।'
यसैबीच साउदी अरबका युवराज मोहम्मद बिन सलमानले ट्रम्पसँग फोन वार्ता गर्दै क्षेत्रीय तनाव घटाउन संवादलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। अमेरिकाका खाडी सहयोगी राष्ट्रहरू भने इरानसँगको संघर्ष बढ्दा आफ्ना देशमा मिसाइल आक्रमण हुनसक्ने भन्दै चिन्तित छन्। बहराइन, जोर्डन र संयुक्त अरब इमिरेट्सजस्ता मुलुकमा रहेका महत्वपूर्ण पूर्वाधारहरू जोखिममा पर्न सक्ने उनीहरूको आशंका छ।
अप्रिलमा भएको युद्धविराम असफल भएपछि अमेरिका र इरानबीच तनाव पुनः बढेको छ। अमेरिकाले इरानी बन्दरगाहमा नाकाबन्दी र विभिन्न स्थानमा आक्रमण गरेको छ भने इरानले अमेरिकी आधार र सम्पत्तिमाथि ड्रोन तथा मिसाइल आक्रमण गरेको छ।
यस द्वन्द्वका कारण विश्व बजारमा तेलको मूल्यमा समेत ठूलो उतारचढाव आएको छ। अमेरिकाभित्र पनि इरानसँगको युद्धप्रति असन्तुष्टि बढिरहेको छ। प्यु रिसर्च सेन्टरका अनुसार करिब ६० प्रतिशत अमेरिकी नागरिकले इरानसँगको युद्धको विरोध गरेका छन्। बढ्दो तेल मूल्य र आगामी मध्यावधि निर्वाचनका कारण ट्रम्पमाथि घरेलु राजनीतिक दबाबसमेत बढिरहेको छ।
.gif)

.png)

