बिदामा बसेका डीआईजी घिमिरे र बुवाको उपचारमा अस्पतालमा रहेका एसपी थेवेको जिम्मेवारी खोसियो
विराटनगर : सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक झडपका बेला बिदामा बसेका सुरक्षा अधिकारीहरुको जिम्मेवारी खोसिएको छ । घटनाको समयमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशवकुमार थेबे बिदामा थिए ।
एसपी थेबे बुबाको उपचारका लागि चार दिनदेखि बिदामा रहेको र उनको अनुपस्थितिमा डीएसपी चन्द्रबहादुर खड्काले निमित्त जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
त्यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विनोद घिमिरे पनि घटनाका दिन बिदामा थिए। उनको अनुपस्थितिमा एसएसपी योगेन्द्रसिंह थापाले प्रदेश प्रहरीको नेतृत्व सम्हालिरहेका थिए। घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ ।
थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल खटाइएको छ । थेवेको स्थानमा उक्त विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई खटाउने निर्णय गरिएको छ ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा एक जनाको निधन भएको थियो। घटनामा परेर ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका थिए ।
घटनाको विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भइसकेको छ । समितिले एक साताभित्रमा प्रतिवेदन बुझाउने छ ।
घटनापछि थप समस्या उत्पन्न हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा आज बिहान ७ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
.gif)

.png)

