विपीपुत्र शशांकलाई ‘फ्रन्टलाइन फेस’ बनाएर कांग्रेस विभाजनको तयारीमा विद्रोही पक्ष
अगुवा नेताहरू पछाडि, नेतृत्वको अनुहारमा विपीपुत्र डा. शशांक कोइराला
काठमाडौं : देशकै सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अब विभाजनउन्मुख देखिएको छ। राणा शासनविरुद्धको आन्दोलनको नेतृत्व गर्दै बिपी कोइरालाको नेतृत्वमा स्थापित र विकसित भएको कांग्रेसमा अहिले उनका पुत्र डा.शशांक कोइरालालाई अगाडि सारेर नयाँ राजनीतिक ध्रुवीकरणको तयारी भइरहेको छ।
कुनै नाटकीय राजनीतिक सहमति नभए कांग्रेसको विद्रोही पक्षले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने राष्ट्रिय कार्यकर्ता भेलाबाट नयाँ पार्टी गठनको घोषणा गर्न सक्ने सम्भावना बढेको छ। यही भेलाको तयारीका लागि डा. शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। साथै राजनीतिक प्रस्ताव, संगठन, विधान संशोधन, आर्थिक नीति, प्रचार–प्रसार, व्यवस्थापनलगायत १६ वटा विषयगत समिति पनि बनाइएको छ।
अभियानका अनुसार देशभरका ७५३ पालिका, ३३० प्रदेशसभा निर्वाचन क्षेत्र, १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा विभिन्न वर्ग र समुदायका प्रतिनिधिहरूलाई भेलामा सहभागी गराइनेछ। हालसम्म एक हजार ३५९ प्रतिनिधिले नाम दर्ता गराइसकेको दाबी गरिएको छ।
उच्च स्रोतका अनुसार विद्रोही पक्षले नयाँ पार्टीको नाम ‘राष्ट्रिय कांग्रेस’ राख्ने र निर्वाचन आयोगमा ‘शंख’ चुनाव चिह्न प्रस्ताव गर्ने विषयमा आन्तरिक गृहकार्य अघि बढाएको छ। यद्यपि, यसबारे औपचारिक निर्णय भने भइसकेको छैन। इतर पक्षका नेताहरूका अनुसार अन्तिम निर्णय राष्ट्रिय कार्यकर्ता भेलाले गर्नेछ।
हालको अभियानमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला सक्रिय देखिए पनि रणनीतिक रूपमा डा. शशांक कोइरालालाई नेतृत्वको अग्रभागमा राखिएको दाबी विद्रोही पक्षका नेताहरूको छ। पूर्वउपसभापति विमलेन्द्र निधि, नेता प्रकाशमान सिंह तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला लगायतका नेताहरू पनि अभियानमा सक्रिय छन्।
कांग्रेसको इतिहाससँग जोडिएका प्रभावशाली राजनीतिक परिवारका नेताहरू पनि विद्रोही अभियानमा देखिएका छन्। पार्टीका संस्थापक नेता बिपी कोइराला, पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइराला र पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको राजनीतिक विरासत बोकेका डा. शशांक कोइराला र डा. शेखर कोइराला नयाँ राजनीतिक विकल्पको पक्षमा उभिएका छन्। त्यस्तै, गणेशमान सिंहका पुत्र प्रकाशमान सिंह तथा महेन्द्र नारायण निधिका राजनीतिक उत्तराधिकारी विमलेन्द्र निधि पनि संस्थापन नेतृत्वसँग असन्तुष्ट समूहमा सक्रिय छन्।
इतर समूहका नेताहरूका अनुसार वर्तमान नेतृत्वसँग राजनीतिक सहमतिको सम्भावना क्रमशः कमजोर बन्दै गएको छ। पूर्वउपसभापति विमलेन्द्र निधिले नेतृत्वको विषयमा अब अन्योल नरहेको उल्लेख गर्दै नयाँ पार्टी गठन वा संगठनको स्वरूपबारे राष्ट्रिय भेलाले ठोस निर्णय गर्ने बताएका छन्। नेता केदार कार्कीले पनि नेतृत्वबाट सहमतिको वातावरण नबने पार्टी र लोकतान्त्रिक शक्तिलाई जोगाउन नयाँ राजनीतिक बाटो रोज्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन्।
उता, इतर पक्षले राष्ट्रिय कार्यकर्ता भेला आह्वान गरेसँगै कांग्रेसको संस्थापन पक्ष पनि सक्रिय बनेको छ। इतर पक्षले साउन २९ गतेदेखि भेला आयोजना गर्ने घोषणा गरेपछि संस्थापन पक्षले त्यसको पाँच दिनअघि, साउन २४ गते, केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। यसलाई सम्भावित विभाजन रोक्ने अन्तिम प्रयासका रूपमा राजनीतिक वृत्तमा हेरिएको छ।
.gif)

.png)

