ब्रिटिश युवराज विलियमले भने: निम्स दाइ विश्वकै महान् पर्वतारोही र अद्वितीय व्यक्ति थिए

‘असम्भवलाई सम्भव बनाउने साहसले निम्स दाइलाई अद्वितीय बनायो’


२०८३ श्रावण १७ आइतबार १९:०६ बजे

काठमाडौं :  पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोमा परी निधन भएका विश्वविख्यात नेपाली पर्वतारोही तथा पूर्व ब्रिटिश गोर्खा सैनिक निर्मल पुर्जा ‘निम्स दाइ’प्रति ब्रिटिश युवराज विलियमले गहिरो श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले निम्स दाइलाई विश्वकै महान् पर्वतारोहीमध्ये एक तथा वास्तवमै अद्वितीय व्यक्ति भन्दै उनको निधनले आफूलाई मर्माहत बनाएको बताएका छन्।

'द प्रिन्स एन्ड प्रिन्सेस अफ वेल्स'को आधिकारिक एक्स (पूर्व ट्विटर) खातामार्फत शोक सन्देश जारी गर्दै युवराज विलियमले ब्रड पिकमा गएको हिमपहिरोमा निम्स दाइसहित ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।

उनले लेखेका छन्, 'ब्रड पिकमा आएको हिमपहिरोमा परी निर्मल पुर्जा (निम्स दाइ) र अन्य पर्वतारोहीहरूको दुःखद निधनको खबरले म अत्यन्त मर्माहत भएको छु। निम्सले विश्वकै महान् पर्वतारोहीमध्ये एक बन्नुअघि ब्रिटिश सशस्त्र सेनामा उत्कृष्ट सेवा गरेका थिए। उनले नेपाली पर्वतारोहीहरूलाई विश्वमञ्चमा चिनाउने अतुलनीय योगदान दिएका छन्।' 

युवराज विलियमले निम्स दाइको व्यक्तित्वको पनि खुलेर प्रशंसा गरेका छन्। उनले भनेका छन्, 'असम्भव देखिने कुरालाई पनि निरन्तर पछ्याउने उनको अठोट, नम्रता र निस्वार्थपनले उनलाई वास्तवमै अद्वितीय बनाएको थियो। मेरो समवेदना उहाँको परिवार तथा हिमपहिरोमा ज्यान गुमाउने सबैका परिवारप्रति छ।'

सार्वजनिक गरिएको शोक सन्देशको अन्त्यमा ‘W’ लेखिएको छ, जुन युवराज विलियमले व्यक्तिगत रूपमा जारी गर्ने सन्देशमा प्रयोग गर्ने हस्ताक्षर हो। निर्मल पुर्जाले ब्रिटिश गोर्खा सैनिकका रूपमा १६ वर्ष सेवा गरेका थिए। त्यसमध्ये १० वर्ष उनले बेलायती सेनाको विशेष फौज (स्पेसल फोर्सेज) मा बिताएका थिए। उनी चिसो मौसममा सञ्चालन हुने विशेष सैन्य अभियानका विशेषज्ञ मानिन्थे। सैन्य सेवामै रहँदा सगरमाथा आरोहण गर्ने पहिलो कार्यरत गोर्खा सैनिकको कीर्तिमान पनि उनले बनाएका थिए।

सन् २०१८ मा तत्कालीन महारानी एलिजाबेथ द्वितीयले उनलाई ‘मेम्बर अफ द अर्डर अफ द ब्रिटिश एम्पायर (एमबीई)’ बाट सम्मानित गरेकी थिइन्। त्यसपछि उनले पर्वतारोहणमा हासिल गरेका ऐतिहासिक उपलब्धिका कारण विश्वभर ख्याति कमाए।

ब्रिटिश राजपरिवारका वरिष्ठ सदस्य युवराज विलियमबाट आएको यो श्रद्धाञ्जलीले निम्स दाइले अन्तर्राष्ट्रिय स्तरमा कमाएको सम्मान र प्रभावलाई पुनः उजागर गरेको छ। नेपालका पर्वतारोहण क्षेत्रलाई विश्वमञ्चमा नयाँ उचाइमा पुर्‍याउने व्यक्तित्वका रूपमा चिनिएका निम्स दाइको निधनले विश्व पर्वतारोहण समुदायलाई स्तब्ध बनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७