यसपाली किन पक्राउ परे दुर्गा प्रसाईं ?
रविसँग वार्ता गर्ने र गृहमन्त्रीलाई मागपत्र बुझाउने व्यक्ति रास्वपाकै भएको ब्यानर देखाएपछि प्रसाईं पक्राउ
काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं प्रहरीले पक्राउ गरी सोमबार रातिदेखि हिरासतमा राखेको छ। प्रसाईंलाई पक्राउ गर्न भक्तपुर प्रहरीको टोली राति करिब १० बजे भक्तपुरको निकोसेरास्थित निवास पुगेको थियो।
पक्राउ हुनुअघि सोमबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले आन्दोलनको घोषणा गरेका थिए। सोही पत्रकार सम्मेलनमा उनले सुनसरीमा भएको साम्प्रदायिक तनावका घटनासँग सम्बन्धित भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केही नेताहरूको संलग्नता देखाउने दाबी गरिएको ठूलो पोस्टर सार्वजनिक गरेका थिए।
प्रसाईंले सार्वजनिक गरेको पोस्टरमा सुनसरीमा साम्प्रदायिक तनावका क्रममा रास्वपा सभापति रवि लामिछानेसँग संवादमा सहभागी भएका तथा धनुषामा गृहमन्त्रीलाई मागपत्र बुझाउने व्यक्तिहरू रास्वपाकै नेता रहेको दाबी गरिएको थियो।
पत्रकार सम्मेलनमा प्रस्तुत विवरणअनुसार, हिन्दू समुदायका प्रतिनिधिका रूपमा वार्तामा सहभागी भएका राजुराज फुँयाल रास्वपामा आबद्ध व्यक्ति हुन्। उनी हालै सम्पन्न रास्वपाको महाधिवेशनमा केन्द्रीय सदस्य पदका उम्मेदवार बनेका थिए भने यसअघि पार्टीको स्टार्टअप विभागमा पनि सक्रिय थिए। उनी विश्व हिन्दू महासंघको एक पक्षको सचिवालय सदस्यको हैसियतमा वार्तामा सहभागी भएको उल्लेख गरिएको थियो।
त्यसैगरी, धनुषामा गृहमन्त्री सुधन गुरुङलाई संयुक्त हिन्दू मोर्चाका नाममा ज्ञापनपत्र बुझाउने मुख्य व्यक्ति जनकपुर उपमहानगरपालिका–८ का रास्वपा वडा सभापति शनी भगत रहेको दाबी पनि पोस्टरमा गरिएको थियो। उक्त ज्ञापनपत्रमा नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नेदेखि प्रधानमन्त्रीका सल्लाहकार असिम साहलाई हटाउनुपर्ने माग समावेश थियो।
प्रसाईंले पत्रकार सम्मेलनमा यी सबै व्यक्तिहरूको तस्बिर, नाम र रास्वपासँगको सम्बन्ध उल्लेख गरिएको ठूलो पोस्टर सार्वजनिक गर्दै घटनाको निष्पक्ष अनुसन्धानको माग गरेका थिए।
यसको केही घण्टापछि नै प्रहरी टोली उनको निवास पुगेर पक्राउ गरेको हो। प्रहरीले प्रसाईंलाई कुन कसुरमा पक्राउ गरिएको हो भन्नेबारे औपचारिक रूपमा विस्तृत जानकारी सार्वजनिक गरिसकेको छैन। पक्राउको कारणबारे आधिकारिक धारणा आउन बाँकी छ।
.gif)

.png)

