बढुवालगत्तै कर्ण गण्डकीमा, कर्माचार्य ऊर्जा मन्त्रालयमा पदस्थापन
काठमाडौं : सरकारले दुई सहसचिवलाई सचिवमा बढुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रशासनतर्फ आभा श्रेष्ठ कर्ण र नेपाल इन्जिनियरिङ सेवातर्फ डा. जगदीश्वर कर्माचार्यलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरेको हो।
बढुवालगत्तै सरकारले दुई सचिवलाई महत्वपूर्ण जिम्मेवारीमा पदस्थापन समेत गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए। कर्णलाई गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गरिएको उनले बताए।
कर्माचार्यलाई भने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ। दुवैजना आ–आफ्नो सेवातर्फ सचिव बढुवाका लागि पहिलो नम्बरमा सिफारिस भएका थिए।
कर्माचार्य यसअघि ऊर्जा मन्त्रालयमै निमित्त सचिवको जिम्मेवारीमा थिए भने तत्कालीन ऊर्जा सचिव सरिता दवाडीलाई नेपाल ट्रस्टको कार्यालयमा सरुवा गरेपछि मन्त्रालयको सचिव पद रिक्त थियो।
सचिव बढुवा भएपछि कर्माचार्यलाई नै सोही मन्त्रालयको जिम्मेवारी दिइएको हो।
कर्ण गण्डकीको प्रमुख सचिवमा पुगेपछि हाल उक्त जिम्मेवारीमा रहेका भूपाल बरालको नयाँ जिम्मेवारी भने टुंगिएको छैन। बराल यसअघि संघीय सरकारको अर्थ मन्त्रालयमा राजस्व सचिव थिए। उनलाई संघबाट गण्डकी प्रदेशको प्रमुख सचिवमा पठाइएको थियो।
मन्त्रिपरिषद्ले कर्णलाई गण्डकी पठाउने निर्णय गरे पनि बराललाई कहाँ सरुवा वा पदस्थापन गर्ने भन्ने निर्णय सार्वजनिक गरेको छैन।
यससँगै एकातिर रिक्त रहेको ऊर्जा मन्त्रालयले नयाँ सचिव पाएको छ भने अर्कोतिर गण्डकी प्रदेशको प्रमुख सचिवमा नेतृत्व परिवर्तन हुने भएको छ। बरालको आगामी जिम्मेवारी भने सरकारको थप निर्णयपछि मात्र स्पष्ट हुनेछ।
.gif)

.png)


