दुर्गा प्रसाईंले बनाए नौ सदस्यीय टोली
सरकारी टोली बनेको भोलिपल्ट प्रसाईं पक्षबाट पनि वार्ता टोली
काठमाडौं : राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानका अध्यक्ष दुर्गा प्रसाईंले सरकारसँग वार्ता गर्न नौ सदस्यीय टोली गठन गरेका छन्। सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव लिलाधर सुवेदीको नेतृत्वमा चार सदस्यीय वार्ता टोली गठन गरेको भोलिपल्ट प्रसाईंले आफ्नोतर्फबाट वार्ता टोली बनाएका हुन्।
भक्तपुरस्थित प्रसाईंको निवासमा बसेको बैठकले अभियानका तर्फबाट वार्ता टोली गठन गर्ने निर्णय गरेको हो। टोलीको संयोजकमा विष्णु बोहरा क्षेत्री चयन भएका छन्। टोलीका सदस्यमा विजय थापा, देवी संग्रौला, हरदेव महतो, लीलदेव दनुवार, लाल शाह, रिकु मण्डल, राजु आचार्य र नरेन्द्र लामा रहेका छन्।
यसअघि सरकारले पनि सहसचिव सुवेदीको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन गरेको थियो। सरकारी टोलीमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य तथा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डिलाराम पन्थी सदस्य छन्।
आफ्नो पक्षबाट नौ सदस्यीय टोली गठन गर्नुको कारणबारे प्रसाईंले अभियानमा विभिन्न जातजाति र समुदायको प्रतिनिधित्व रहेकाले वार्ता टोलीमा पनि त्यसलाई समेट्न खोजिएको बताए।
‘यहाँ त सबै जातजाति र पक्षहरूको प्रतिनिधित्व गराउनुपर्ने भयो। त्यसलाई मिलाएर नौ सदस्यमा सीमित गरिएको हो,’ प्रसाईंले भने, ‘हाम्रो महाअभियान एउटा सानो समूहले सञ्चालन गरेको होइन। यसमा देशका सबैजसो जातजाति र भूईँमान्छेहरूको प्रतिनिधित्व छ।’ सरकार र प्रसाईं पक्षबीच अब वार्ता टोलीमार्फत संवाद अघि बढ्ने भएको छ। दुवै पक्षले वार्ता टोली गठन गरेसँगै महाअभियानले उठाउँदै आएका माग र सरकारको धारणा संवादमार्फत अघि बढ्ने बाटो खुलेको छ।
.gif)

.png)

