सांसद खतिवडाविरुद्ध अभिव्यक्ति दिएको आरोपमा दुर्गा प्रसाईँ पक्राउ


२०८३ असोज १२ सोमबार १२:३३ बजे
फाइल फोटो

काठमाडौं : सांसद रचना खतिवडाविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा प्रहरीले मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईँलाई पक्राउ गरेको छ।

साइबर ब्यूरोबाट गएको प्रहरी टोलीले सोमबार भक्तपुरस्थित प्रसाईँको निवासबाटै उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले पक्राउ पुर्जी लिएर आएपछि बुबालाई नियन्त्रणमा लिएको  उनका छोरा निराजन प्रसाईँले पुष्टि गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडाविरुद्ध प्रसाईँले दिएको अभिव्यक्तिलाई लिएर साइबर ब्यूरोमा उजुरी परेको प्रहरीले जानकारी दिएको छ। 

प्रसाईँले सांसद खतिवडालाई उनका छोरा तथा जेनजी आन्दोलनका शहीद रसिक खतिवडाको मृत्युको विषयसँग जोडेर अभिव्यक्ति दिएका थिए। उनले ‘छोराको लाशमा टेकेर संसद् बनेको’ भन्ने आरोप लगाएका थिए।

प्रसाईँको उक्त अभिव्यक्तिप्रति सांसद खतिवडाले प्रतिनिधि सभाको बैठकमै आपत्ति जनाएकी थिइन्। संसद्मा आफ्नो धारणा राख्ने क्रममा उनी भावुक हुँदै रोएकी थिइन्। त्यसपछि खतिवडाको परिवारको तर्फबाट प्रसाईँविरुद्ध उजुरी परेको प्रहरीले जनाएको छ।

उजुरीका आधारमा साइबर ब्यूरोले अनुसन्धान अघि बढाउँदै प्रसाईँलाई पक्राउ गरेको हो। उनलाई कुन कानुनी प्रावधानअन्तर्गत पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले विस्तृत विवरण सार्वजनिक गर्न बाँकी छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७