एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को पूरक (ग्रेडवृद्धि) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। यसपटक परीक्षामा सहभागीमध्ये ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार पूरक परीक्षामा सहभागी १ लाख २९ हजार ११४ परीक्षार्थीमध्ये ८३ हजार ५२३ जना उत्तीर्ण भएका हुन्।
यही असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको परीक्षाका लागि १ लाख ४६ हजार ५०७ जनाले आवेदन दिएका थिए। तर तीमध्ये १ लाख २९ हजार ११४ जना मात्र परीक्षामा सहभागी भएका थिए।
बोर्डका अनुसार परीक्षार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड तथा परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) को वेबसाइट, एसएमएस, युएसएसडी र आइभीआर सेवामार्फत आफ्नो नतिजा हेर्न सक्नेछन्। साथै, सिम्बोल नम्बर र जन्ममिति प्रयोग गरी ग्रेडसिट डाउनलोड गर्ने सुविधा पनि उपलब्ध गराइएको छ।
नतिजाप्रति चित्त नबुझेका परीक्षार्थीले असार २५ गतेदेखि ३१ गतेसम्म अनलाइनमार्फत पुनर्योग, उत्तरपुस्तिका अवलोकन तथा पुनः परीक्षणका लागि आवेदन दिन सक्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
.gif)

.png)

