शान्ति मिसनका लागि १० हजार सैनिक पठाउन नेपाल तयार छ : परराष्ट्रमन्त्री खनाल


२०८३ असोज ७ बुधबार २२:०३ बजे

काठमाडौं :  परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति अभियानमा आवश्यक परे नेपालले १० हजारसम्म शान्ति सैनिक योगदान गर्न तयार रहेको बताएका छन्।

न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घको शान्ति सञ्चालन विभागका उपमहासचिव जाँ–पिइरे लाक्रोइक्ससँगको भेटवार्तामा मन्त्री खनालले विश्व शान्ति र सुरक्षाका लागि नेपालले गर्दै आएको योगदानलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएका हुन्।

उनका अनुसार हाल करिब १२ वटा संयुक्त राष्ट्रसङ्घीय शान्ति अभियानमा ४ हजार ३०० भन्दा बढी नेपाली सैनिक तथा प्रहरी कार्यरत छन्। राष्ट्रसङ्घको आवश्यकता र अनुरोधअनुसार थप जनशक्ति आवश्यक परे नेपालले १० हजारसम्म शान्ति सैनिक पठाउन सक्ने उनले बताए।

खनालले चुनौतीपूर्ण परिस्थितिमा समेत नेपाली शान्ति सैनिकले व्यावसायिकता, अनुशासन र समर्पणका साथ जिम्मेवारी निर्वाह गर्दै आएको उल्लेख गरे।

संयुक्त राष्ट्रसङ्घीय शान्ति अभियानले भोगिरहेको वित्तीय तथा तरलताको चुनौतीप्रति नेपाल जानकार रहेको भन्दै उनले त्यस्ता चुनौतीका बाबजुद शान्ति स्थापनाप्रतिको नेपालको प्रतिबद्धता कायमै रहेको बताए।

भेटवार्तामा खनालले शान्ति मिसनमा नेपालको निरन्तर योगदान र सहयोगको उचित कदर गर्दै आगामी नयाँ परिचालनका अवसरमा नेपाललाई प्राथमिकताका साथ विचार गर्न आग्रह गरे। उपमहासचिव लाक्रोइक्सले विश्व शान्ति स्थापनामा नेपाल र नेपाली सुरक्षाकर्मीले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरेका थिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७