सुसन वैद्य काठमाडौं महानगर कांग्रेस सभापति
काठमाडौं : नेपाली कांग्रेस काठमाडौं महानगरपालिकाको सभापतिमा सुसन वैद्य निर्विरोध चयन भएका छन्। बुधबार सम्पन्न अधिवेशनबाट उनी सभापतिमा निर्वाचित भएका हुन्।
आर्किटेक्ट इन्जिनियर वैद्य यसअघि महानगर कांग्रेसका सचिव थिए। विद्यार्थी आन्दोलन हुँदै नेविसंघको राजनीतिमा सक्रिय भएका उनी २०५५ सालमा थापाथली इन्जिनियरिङ क्याम्पसको स्ववियु उपसभापति बनेका थिए।
कांग्रेसको १४औँ महाधिवेशनबाट महानगर सचिवमा निर्वाचित वैद्यको नाम यसअघि काठमाडौं महानगरको मेयर तथा काठमाडौं–६ बाट प्रतिनिधिसभा उम्मेदवारका लागि सिफारिस भएको थियो।
इन्जिनियरिङ पेसासँगै नीति निर्माण र सार्वजनिक अभियानमा सक्रिय वैद्य राष्ट्रिय योजना आयोग र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका विज्ञ सल्लाहकार तथा रक्षा मन्त्रालयका सल्लाहकारसमेत रहिसकेका छन्।
काठमाडौंका सम्पदा संरक्षण अभियानमा उनको सक्रियता चर्चित छ। ‘खुलामञ्च खुला गर’, ‘अकुपाई टुँडिखेल’, कमलपोखरी संरक्षण तथा गुठी आन्दोलनमा उनले सक्रिय भूमिका निर्वाह गरेका थिए। अब वैद्यले काठमाडौं महानगर कांग्रेसको संगठनको नेतृत्व सम्हाल्नेछन्।
.gif)

.png)


