शिक्षामन्त्रीलाई मधेसमा बोल्नै अवरोध

सुरक्षाकर्मीको सहयोगमा मञ्च छाडे


२०८३ भदौ २७ शनिबार २२:१७ बजे

सिरहा : पाठ्यक्रमका लागि सुझाव संकलन गर्न आयोजित कार्यक्रममा विवाद भएपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल बोल्दाबोल्दै कार्यक्रमस्थलबाट बाहिरिएका छन्।

शनिबार सिरहाको औरही गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा वक्ताको समय कटौती गरी मन्त्री पोखरेललाई सम्बोधनका लागि माइक दिइएपछि विवाद सिर्जना भएको गाउँपालिका अध्यक्ष शिवजी यादवले बताएका छन्। शिक्षा समन्वय इकाइ सिरहाले आयोजना गरेको कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधिलगायतलाई आमन्त्रण गरिएको थियो।

अध्यक्ष यादवका अनुसार मन्त्री पोखरेल कार्यक्रमस्थलमा ढिलो पुगेका थिए। मन्त्री आउनुअघि गाउँपालिकाको शिक्षा शाखा प्रमुख सन्तोष यादवले कार्यक्रम सञ्चालन गरिरहेका थिए। तर, मन्त्री पुगेपछि मन्त्रालयकै एक कर्मचारीले कार्यक्रम सञ्चालन गर्न थालेका थिए। मन्त्रीको सचिवालयबाट कार्यक्रम छोट्याउन भन्दै पूर्वनिर्धारित वक्ताहरूको सूची कटौती गरिएपछि विवाद सुरु भएको अध्यक्ष यादवको भनाइ छ।

कार्यक्रमको पूर्वनिर्धारित तालिकाअनुसार मन्तव्यका लागि समय छुट्याइएका वक्ताहरूलाई बोल्न नदिई मन्त्री पोखरेलले सम्बोधन सुरु गरेपछि जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश महतोले असन्तुष्टि जनाएका थिए। ‘मन्त्री आएपछि हतारहतार कार्यक्रम सक्न खोज्दा विवाद सिर्जना भएको हो,’ अध्यक्ष यादवले भने, ‘जिल्ला समन्वय समितिका सभापतिले बोल्न समय माग्दा पनि सञ्चालकले दिनुभएन। त्यसपछि एकैपटक मन्त्रीलाई बोल्न दिँदा विवाद भएको हो।’

महतोले आफू करिब दुई घण्टादेखि कार्यक्रममा बसे पनि बोल्ने अवसर नपाएको भन्दै असन्तुष्टि जनाएको एक सहभागीले बताए। त्यसपछि उनका समर्थकहरूले महतोलाई बोल्न नदिएको भन्दै विरोध गरेपछि कार्यक्रमस्थलमा होहल्ला भएको थियो।

महतोका अनुसार कार्यक्रममा सहभागी शिक्षक तथा अन्य जनप्रतिनिधिले समेत बोल्ने अवसर नपाएकोमा असन्तुष्टि जनाएका थिए। मन्त्रीसँगै आएका केही व्यक्तिले ‘यो नेताहरूले बोल्ने कार्यक्रम होइन’ भन्दै आफूहरूमाथि अपमानजनक व्यवहार गरेको उनको आरोप छ।

‘यो गुनासो मेरो मात्रै थिएन, त्यहाँ सहभागी शिक्षक र अन्य जनप्रतिनिधि साथीहरूको पनि थियो,’ महतोले भने, ‘तर मन्त्रीज्यूसँग आउनुभएका केही साथीहरूले अपमानजनक ढंगले चुप लगाउन खोज्नुभयो। हामी जिल्लाका जनप्रतिनिधिको आवाज नसुन्ने हो भने यो कस्तो सुझाव संकलन हो?’

यसैबीच कार्यक्रममा भिडियो खिचिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) औरही गाउँपालिका सभापति सन्तोष यादवको मोबाइल फोन खोस्न खोजिएको विषयले पनि विवाद चर्किएको थियो। महतोका अनुसार मन्त्रीसँगै आएका एक व्यक्तिले नेपाली सेनालाई भन्दै यादवको मोबाइल खोस्न लगाएका थिए। त्यसपछि कार्यक्रमस्थलमा थप होहल्ला भएको उनको दाबी छ।

विवाद चर्किएपछि मन्त्री पोखरेलले आफ्नो मन्तव्य पूरा नगरी कार्यक्रमस्थलबाट बाहिरिएका थिए। उनी सुरक्षाकर्मीको सहयोगमा कार्यक्रमस्थलबाट बाहिरिएको बताइएको छ। यता, रास्वपा सांसद शिव यादवले भने कार्यक्रममा भएको विवादको मुख्य कारण जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश महतो नै रहेको आरोप लगाएका छन्। घटनाबारे सम्बन्धित पक्षले फरक–फरक दाबी गरेपछि पाठ्यक्रमका लागि सुझाव संकलन गर्न आयोजित कार्यक्रम विवादमा परिणत भएको हो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७