महेश बस्नेतको प्रस्ताव : एमालेको हैसियत जोगाउन पुरानै संसद् पुनर्स्थापनामा लागौं
‘पुरानै संसद् पुनर्स्थापना गरौँ, बालेन सरकारविरुद्ध सशक्त आन्दोलन गरौँ’
काठमाडौं : नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीको पुरानो राजनीतिक हैसियत जोगाउन पुरानै संसद् पुनर्स्थापनाको एजेण्डा अघि बढाउनुपर्ने बताएका छन्।
एमालेको जारी केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै बस्नेतले अदालतमा विचाराधीन रहेको पुरानो संसद् पुनर्स्थापनाको मुद्दालाई टुंगोमा पुर्याउने दिशामा पार्टी अघि बढ्नुपर्ने बताएका हुन्।
अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पनि संसद् पुनर्स्थापनाको प्रसंग उल्लेख गरिएको छ। बस्नेतले अदालतमा विचाराधीन पुरानो संसद् पुनर्स्थापना गरेर सरकारका ‘प्रतिगामी र अधिनायकवादी कदम’ सच्याउनुपर्ने धारणा राखेका छन्। उनका अनुसार यसबाट एमालेको पुरानो राजनीतिक हैसियत जोगाउने अवसरसमेत प्राप्त हुन सक्छ।
‘अदालतमा विचाराधीन पुरानो संसद् पुनर्स्थापना गरेर सरकारका प्रतिगामी अधिनायकवादी कदम सच्याउनुपर्दछ। जसबाट एमालेको पुरानो हैसियत जोगाउने राम्रो अवसर पनि हो,’ उनले भने।
बालेन सरकारविरुद्ध सशक्त आन्दोलनको प्रस्ताव
बस्नेतले वर्तमान सरकारविरुद्ध एमालेले सशक्त जनआन्दोलनको नेतृत्व गर्नुपर्ने प्रस्तावसमेत गरेका छन्। उनले बालेन सरकारको कार्यशैली, जनअधिकारसँग सम्बन्धित विषय र सुशासनका कमजोरीलाई लिएर एमालेले जनस्तरमा आन्दोलन अघि बढाउनुपर्ने बताएका हुन्।
‘बालेन सरकारको मनपरी शासन, जनअधिकारमाथिको हस्तक्षेप, असहिष्णु कार्यशैली र सुशासनका कमजोरीविरुद्ध एमालेले अब सशक्त जनआन्दोलनको नेतृत्व गर्नुपर्छ,’ उनले भने।
बस्नेतले एमालेको पुनर्गठनलाई नेतृत्व परिवर्तनसँग मात्र जोड्न नहुने धारणा राखेका छन्। उनका अनुसार पार्टी पुनर्गठन भनेको पार्टी सुधार, संगठन सुदृढीकरण, कार्यशैलीमा सुधार र जनसम्बन्ध विस्तार हो।
आगामी स्थानीय तथा प्रदेश तहको निर्वाचनलाई लक्षित गर्दै संगठन, नीति र नेतृत्वलाई थप बलियो बनाउनुपर्ने उनको भनाइ छ। साथै, विचार मिल्ने वामपन्थी दलहरूसँग कार्यगत एकता र सहकार्य गर्दै गुमेको जनमत फिर्ता ल्याउने दिशामा अघि बढ्नुपर्ने उनले बताएका छन्। बस्नेतले पार्टीभित्रका असहमति र विवादलाई मिडिया तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने प्रवृत्ति रोक्नुपर्ने धारणा पनि राखेका छन्।
आलोचना गर्न पाउने भए पनि तथ्यसहित र विधिसम्मत रूपमा सम्बन्धित पार्टी कमिटीमा बहस गर्नुपर्ने उनले बताए। ‘पार्टीको आन्तरिक बहसलाई मिडियाको विषय बनाउने प्रवृत्तिबारे पार्टीले स्पष्ट आचारसंहिता बनाउनुपर्छ र आवश्यकताअनुसार कारबाहीको विषय बनाउनुपर्छ,’ उनले भने।
पार्टी र नेतृत्वको रक्षा गर्नु गलत तथा नेतृत्वलाई कमजोर बनाउनु नै ‘क्रान्तिकारी कदम’ हो भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै बस्नेतले त्यसप्रति सचेत हुनुपर्ने बताएका छन्।
गलत देखिए नेतृत्वलाई सचेत गराउने, नेतृत्वलाई स्थापित गर्ने तथा मतभेदलाई विधिसम्मत संवादबाट समाधान गर्ने संस्कार नै जनवादी केन्द्रीयता र जनताको बहुदलीय जनवादको मूल भावना भएको उनको भनाइ छ।
.gif)

.png)

