एमाले बैठकमा सुहाङले भने: आन्दोलन अजम्बरी राख्ने हो भने आजको सत्य स्वीकार गर्नुहोस्

‘पार्टी ‘ठिकठाक’ छैन, भरोषा टुट्दै गएको छ । क्रान्तिकारीहरुले त झुटको सामना गर्दा पनि झुटको सहारा लिन हुन्न’ 


२०८३ असोज ७ बुधबार २०:५२ बजे

काठमाडौं :  नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा सांसद सुहाङ नेम्वाङले एमालेप्रतिको जनताको विश्वास र भरोषा टुट्दै गएको सत्यलाई स्वीकार गर्न नेतृत्वलाई आग्रह गरेका छन् । पार्टी ‘ठिकठाक छ’ नभन्न अनुरोध गर्दै उनले क्रान्तिकारीहरुले त झुटको सामना गर्दा पनि झुटको सहारा लिन नहुने बताएका हुन् । 

ललितपुरमा जारी केन्द्रीय कमिटीको बैठकमा नेम्वाङले आफ्नो धारणा राख्दै भनेका छन्, ‘हामीले यहाँ भनिरहे जस्तो ‘हाम्रो आन्दोल र पार्टीको अवस्था ठिकठाक छैन ।’ हामीप्रतिको विश्वास र भरोषा टुट्दै गएको छ । ठिक छ भनेर असत्य बोल्नु हुन्न, क्रान्तिकारीहरुले त झुटको सामना गर्दा पनि झुटको सहारा लिनु हुन्न ।’  

उनले नेतृत्वसँग समाज र नयाँ पुस्ताको विश्वास जित्ने नयाँ मार्गचित्र नभए विश्वास गरेर नयाँ पुस्तालाई नेतृत्व दिन आग्रह गरे । पार्टी र आन्दोलनलाई सारा बन्धन र षड्यन्त्रबाट बाहिर निकालेर पार्टीको गौरवमय इतिहासको कथा समाज, पुस्ता र दुनियाँलाई भन्ने मार्गचित्र र आत्मविश्वास नयाँ पुस्ता रहेको उनको भनाई छ ।

उनले भने, ‘मेरो अनुरोध छ, की समाज र नयाँ पुस्ताको विश्वास जित्ने नयाँ मार्गचित्र बनाउनुहोस् । हामी त्यहाँ कसरी हिड्ने त्यो भनीदिनुहोस् । की हामी नयाँ पुस्तालाई विश्वास गर्नुहोस्, ‘हामी पार्टी र आन्दोलनलाई सारा बन्धन र षड्यन्त्रबाट बाहिर निकालेर तपाईहरुको गौरवमय इतिहासको कथा समाज, पुस्ता र दुनियाँलाई भन्छौं । त्यो मार्गचित्र र आत्मविश्वास हामी नयाँ पुस्तासँग छ ।’


सुहाङले के भने ?

अध्यक्ष कमरेड, 
पदाधिकारी तथा सबै मेरा अग्रज कमरेडहरु,
 
सद मार्गको मार्गदर्शक गौतम बुद्धले भन्नु भएको छ, ‘संसारमा तीन कुराहरू लामो समयसम्म लुकाउन सकिँदैनः सूर्य, चन्द्रमा र सत्य ।’ 

दार्शनिक फ्रेडरिक नित्से भन्नुहुन्छ, ‘कहिलेकाहीँ मानिसहरू सत्य सुन्न चाहँदैनन्, किनभने उनीहरू आफ्नो मीठो भ्रम टुटोस् भन्ने चाहँदैनन् ।’ अब हाम्रो अहिलेको यर्थाथ अर्थात् सत्यको कुरा गरौं, 

पहिलो सत्य,  तपाईंहरुले परिर्वतनका लागि कष्टसाध्य असाधरण संघर्ष र योगदान गर्नुभयो, यो इतिहास गौरवपूर्ण छ । 

दोस्रो सत्य,  तपाईहरुको त्यो असाधरण संघर्ष र योगदानको इतिहास पुस्तौंसम्म अजम्बरी र बरकरार राख्न, पार्टी आन्दोलन पनि अजम्बरी हुनैपर्छ । हो, आन्दोलनलाई अजम्बरी बनाइराख्न तपाईं हामीले आजको सत्यलाई स्वीकार गर्नुपर्छ । 

महान् क्रान्तीकारी चे गेभाराले भन्नुभएको छ नी, ‘आफ्नो गल्ती र कमजोरी स्वीकार नगर्ने व्यक्ति क्रान्तिकारी हुन सक्दैन । कमजोरी ढाकछोप गर्नु भनेको विचारमा पतन आउनु र क्रान्तिप्रति नै विश्वासघात हुनु हो । सत्यलाई स्वीकार गर्न नसक्नु नै वैचारिक र सांगठनिक विनाश हो ।’ 
हामी त हाम्रो अग्रजहरुको त्यो गौरवमय इतिहासलाई नयाँ पुस्ता हजारौं बर्षसम्मका दर सन्तानहरुलाई सुनाउँन चहान्छौं, अहिले नै हाम्रो प्रिय झन्डा च्यातियो भने, अग्रजहरुको शालिक ढल्यो भने, त्यो हामी ढले जस्तै हो । 


त्यसैले सत्य स्वीकार गर्नुहोस्, 
त्यो सत्य हो,  हामीले यहाँ भनिरहे जस्तो ‘हाम्रो आन्दोल र पार्टीको अवस्था ठिकठाक छैन ।’ हामीप्रतिको विश्वास र भरोषा टुट्दै गएको छ । ठिक छ भनेर असत्य बोल्नु हुन्न, क्रान्तिकारीहरुले त झुटको सामना गर्दा पनि झुटको सहारा लिनु हुन्न । 


कमरेड माओले भन्नु भएको छ, 
‘यदि हामीमा कमी–कमजोरीहरू छन् भने, हामी अरूले त्यो औंल्याइदिँदा डराउनु हुँदैन । जसरी दिनहुँ अनुहार नधुँदा फोहोर जम्छ, त्यसैगरी आत्मसमीक्षा र गल्ती स्वीकार नगर्दा विचारमा पतन आउँछ । गल्ती लुकाउनु भनेको रोग लुकाउनु जस्तै हो, जसले अन्ततः विनाश नै ल्याउँछ ।’ !

यति भन्छु, हाम्रो आन्दोलनमा रोग लागेको छ, अनुहारमा फोहोर जमेको छ । कमरेड माओले भने जस्तै गल्ती लुकाउनु भनेको रोग लुकाउनु हो । फेरि भन्छु, तपाईहरुले गर्नुभएको कष्टसाध्य संघर्ष, योगदानको कथा र कम्युनिष्ट आन्दोलनको गौरवमयी कथा धेरै पुस्तासम्म भनीरहन चहान्छौं । सुनाइरहन चहान्छौं । अब पनि हामी पुनगर्ठित भएर नयाँ उचाईमा हिड्न सकेनौं भने त्यो गौरवमय कथा सुन्ने नयाँ पुस्तामा केही हुने छैनन् । 

मेरो अनुरोध छ, की समाज र नयाँ पुस्ताको विश्वास जित्ने नयाँ मार्गचित्र बनाउनुहोस् । हामी त्यहाँ कसरी हिड्ने त्यो भनीदिनुहोस् । की हामी नयाँ पुस्तालाई विश्वास गर्नुहोस्, ‘हामी पार्टी र आन्दोलनलाई सारा बन्धन र षड्यन्त्रबाट बाहिर निकालेर तपाईहरुको गौरवमय इतिहासको कथा समाज, पुस्ता र दुनियाँलाई भन्छौं । त्यो मार्गचित्र र आत्मविश्वास हामी नयाँ पुस्तासँग छ ।  
 

 

 

 

 

 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७