आज दिउँसोको मौसमः कहाँ कस्तो रहनेछ ?
पहाडी भेगमा बर्षा, तराईमा गर्मी बढ्ने
काठमाडौँ: नेपालमा यतिबेला पश्चिमी वायु र स्थानीय वायुको संयुक्त प्रभाव देखिएको छ। यसका कारण मुलुकभरको मौसममा मिश्रित बदलाब आएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका पहाडी तथा हिमाली क्षेत्रमा साधारण बदली (बादल लाग्ने) भएको छ भने तराईका अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
वायुको यही प्रभावका कारण आज केही जिल्लाहरूमा भारी वर्षा समेत भएको महाशाखाले उल्लेख गरेको छ।
आज दिउँसोको मौसम: कहाँ कस्तो रहनेछ?
-
बदली र वर्षा: आज दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ।
-
मेघगर्जन र हिमपात: कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भेगका केही स्थानहरूमा चट्याङ र मेघगर्जनसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। यस्तै, मधेस प्रदेशसहित कोसी, बागमती, गण्डकीका तराई क्षेत्र र लुम्बिनी तथा कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा पनि पानी र हिउँ पर्ने अनुमान गरिएको छ।
-
तराईको अवस्था: लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बादल लाग्ने भए तापनि बाँकी तराईका भूभागमा भने मौसम मुख्यतया सफा नै रहनेछ।
तराईमा गर्मीको प्रकोश: 'तातोलहर' को जोखिम
एकतिर पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहँदा अर्कोतिर तराई क्षेत्रमा भने गर्मी बढ्ने देखिएको छ। महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई दुवै भूभागमा 'तातोलहर' चल्ने सम्भावना छ। यसैगरी लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा पनि अत्यधिक गर्मी भई 'तातो दिन' हुने प्रक्षेपण गरिएको छ।
रातिको मौसमी पूर्वानुमान
रातिको समयमा पनि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागिरहनेछ। अन्य प्रदेशका पहाडी र हिमाली भेगमा आंशिक बदली भए तापनि बाँकी तराई क्षेत्रको मौसम सफा रहनेछ। राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाको भनाइ छ।
.gif)

.png)

