सरकारलाई मानव अधिकार आयोगको निर्देशन: सुनसरीमा सुरक्षा मजबुत बनाउनू
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले सुनसरीको देवानगञ्जमा भएको घटनापछि कमजोर देखिएको शान्तिसुरक्षा व्यवस्था मजबुत बनाउन सरकारलाई निर्देशन दिएको छ। आयोगले बुधबार विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन, मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको हो।
आयोगले सामाजिक सद्भाव कायम राख्न पनि सबै पक्षलाई अपिल गरेको छ। शान्तिपूर्ण वार्ता र संवादमार्फत विवाद समाधान गर्दै वातावरण सहज बनाउन राजनीतिक दल, नागरिक समाज, मानव अधिकारकर्मी तथा सर्वसाधारणलाई सहयोग गर्न आयोगले अनुरोध गरेको छ। आयोगले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा दुई समुदायबीच भएको झडप र त्यसपछि प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको घटनाको प्रारम्भिक अनुगमन गरिरहेको जनाएको छ।
‘सुनसरीको देवानगञ्जमा दुई समुदाय बिच भएको झडप र झडपपछि प्रहरीको गोली लागी ओमप्रकाश मेहताको मृत्यु भएको घटनाका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगको कोशी प्रदेश कार्यालय विराटनगरले प्रारम्भिक अनुगमन गरिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आयोगले प्रमुख जिल्ला अधिकारी, सुनसरीका प्रहरी प्रमुख, अस्पताल प्रशासन तथा स्थानीयहरुसँग घटनाको बारेमा जानकारी लिइरहेको छ। आयोगले उक्त घटनाको मानव अधिकारको दृष्टिबाट सूक्ष्म अनुसन्धान सुरु गरिसकेको छ।’
आयोगको कोशी प्रदेश कार्यालय विराटनगरले प्रमुख जिल्ला अधिकारी, सुनसरीका प्रहरी प्रमुख, अस्पताल प्रशासन तथा स्थानीयसँग घटनाबारे जानकारी लिइरहेको विज्ञप्तिमा उल्लेख छ। आयोगका अनुसार प्रारम्भिक अनुगमनमा पोलमा झण्डा राख्ने विषयबाट दुई समुदायबीच विवाद सुरु भएको, डिजे बजाउने क्रममा विवाद बढेको र त्यसपछि तोडफोड तथा झडप भएको पाइएको छ।
झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा ओमप्रकाश मेहताको मृत्यु भएको र ९ जना घाइते भएको आयोगले जनाएको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको पनि आयोगले उल्लेख गरेको छ। आयोगले घटनाको मानव अधिकारको दृष्टिकोणबाट सूक्ष्म अनुसन्धान सुरु गरिसकेको जनाएको छ।
पोलमा झण्डा राख्ने विषयमा दुई समुदायबीच विवाद भएको, डिजे बजाउने क्रममा विवाद उत्कर्षमा पुगेको, विवाद बढ्दै जाँदा दुई पक्ष बिच तोडफोड र झडप सुरु भएको, झडपपछि प्रहरीले स्थिति नियन्त्रणमा लिने क्रममा गोली चलाएको, प्रहरीको गोली लागि ओमप्रकाश मेहताको मृत्यु हुनुका साथै ९ जना घाइते भएका र घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको अनुगमनका क्रममा पाइएको आयोगको भनाइ छ।
.gif)

.png)

