देवानगन्ज तनावको असर विराटनगरमा, बजार-विद्यालय बन्द, राजमार्गमा प्रदर्शन जारी
विराटनगर : सुनसरीको देवानगन्ज–कप्तानगन्जमा उत्पन्न तनावको प्रभाव कोशी प्रदेशको राजधानी विराटनगरसम्म पुगेको छ। त्रासका कारण मंगलबार बिहानैदेखि विराटनगरका मुख्य बजार क्षेत्र र अधिकांश विद्यालय बन्द भएका छन्।
निजी विद्यालय सञ्चालकहरूले भने सोमबार नै मंगलबार बिदा दिने निर्णय गरिएको बताएका छन्। देवानगन्जको कप्तानगन्ज क्षेत्रको अवस्था बिस्तारै सामान्य बन्दै गए पनि पूर्व–पश्चिम राजमार्गअन्तर्गत पकलीदेखि कोशी ब्यारेजसम्म प्रदर्शन जारी छ। प्रदर्शनकारीले विभिन्न स्थानमा टायर बालेर सडक अवरुद्ध पारेपछि यातायात पूर्ण रूपमा ठप्प भएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार देवानगन्ज क्षेत्रको अवस्था साम्य हुँदै गए पनि राजमार्ग क्षेत्रमा प्रदर्शन जारी रहेकाले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। लामो समयदेखि सडक अवरुद्ध हुँदा सयौँ यात्रु बीचबाटोमै अलपत्र परेका छन्। प्रहरीले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक यात्रा नगर्न र स्थिति सामान्य नभएसम्म सतर्क रहन आग्रह गरेको छ।
आइतबार राति र सोमबार भएका घटनाप्रति दुःख व्यक्त गर्दै सुनसरीका तीन स्थानीय तहले सामाजिक सद्भाव र शान्ति कायम राख्न सबैसँग अपिल गरेका छन्। हरिनगर र भोक्राहा नरसिंह गाउँपालिकाले घटनाको शोकमा मंगलबार स्थानीय बिदा दिएका छन्। हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीद्वारा जारी विज्ञप्तिअनुसार गाउँ कार्यपालिका, वडा कार्यालय, शैक्षिक संस्था तथा अत्यावश्यकबाहेकका स्वास्थ्य संस्थाहरू बन्द रहने जनाइएको छ।
आइतबार राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीचको तनाव नियन्त्रणमा लिने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै संगठनबाट गोली चलाइएको थियो । प्रहरीले चलाएको गोली लागेर कप्तानगन्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । अरू केही व्यक्ति घाइते छन् ।
.gif)

.png)

